उषा पाण्डे-काठमाडाैँ , असारको महिना देउराली रोएको बेला गाउँमा खेतभरी खुसी अनि आशाका बियाडहरु रोपिन थाल्छन् ।तर जब राजधानीको मुटुमा रहेको शिल्पी थिएटरमा देउराली रोयो तब उसले आफूसँगै उसलाई नियालिरहेका हरेक आँखाहरुलाई रसिलो बनायाे ।
कहिलेकाहीँ लाग्छ साँच्चै नाटकलाई हामीले बाँच्न छुटाएको हामी भित्रको अर्को जीवन भन्न पाए मैले आफूलाई न्याय गर्न सक्थेँ होला । विडम्बना म स्वयम् एउटा जीवन बाँचेको बहानामा नबाँच्नु पर्ने हिस्साको जीवन बाँचिरहेछु र दर्शकदिर्घबाट नियालिरहेका केही दर्जन जोडी आँखाहरुलाई आँसु या बनावटी हाँसो दिँदैछु । आफ्नै दैलो अगाडि भिख मागिरहेका खुशीहरुलाई इन्कार गरिरहेछु । हुन सक्छ म त्यही जुना हुँ जो आफ्नी दिदीको कर्म बोकेर आफूभित्रको आफूलाई बेठेगानको यात्रामा पठाएको छु ।

लामो दोधारपछी मनले पठाएको थियो मलाई शिल्पीसम्म । साथमा कहिल्यै नाटक हेर्नुको अनुभव नभएकी प्रतिमा थिइन् ।उनको आँखामा उत्साह र केही कौतुहलता देखेकी थिएँ ।म भने आफ्नो रुचि अनि मनसम्म पुग्ने नाटक लामो समयसम्म हेर्न नपाउनुको दिक्दारीले भड्किरहेकी थिएँ । तिसको दशकमा मंचन भएको र दर्शकको अत्याधिक साथ पाएको नाटक 'अनि देउराली रुन्छ'को नयाँ संस्कारण, मन फुरुङ्ग त उसै पनि नभएको होइन । हामी दर्शकको एउटै कमजोरी भनेकै हरेक नाटकमा पात्रहरु जुरुक्क उठेर आफूसँगै आइदिउन् अनि हामीभित्रको आवाज उनै पात्रहरुले बोलिदिउन् भन्ने सोचाइ हुन्छ ।अलिअली सुनेका आधारमा र अलिअली कल्पनाका आधारमा अनि देउराली रुन्छ्का पात्रहरु मैले आफूभित्र जन्माइसकेको थिएँ ।
पर्दा खुल्नु अगावै बजेको गीत अनि पर्दा खुलेसगैँको ग्रामीण दृश्य झल्काउने स्टेज सजावटले दर्शकलाई नाटकले सगैँ यात्रा गराउँछ । नाटक कै लागि मनबहादुर मुखियाले रचना गर्नुभएका गीतहरू साँच्चै नै नाटकको भन्दा माथिल्लो दर्जामा छन् ।ग्रामीण परिवेश, लवाई, लवज्, अनि नाटकभरी प्रयुत्त एकएक सामाग्रीले एउटा मिशृत जाताजातिको बसोबास भएको पहाडी गाउँको झल्को दिन्छ । सिन्धुपाल्चोक आसपासको पृष्ठभूमिमा रचिएको नाटकमा गरिबी, बर्गिय दुरी, प्रेम अनि अभाव र अधुरा सपनाको द्वन्द चलिरहन्छ ।
प्रेम, हाँसो, रोदन, वेदना अनि छट्पटिको संगम नाटक अनि देउराली रुन्छ एउटा ग्रामीण समाजमा हुर्केका हाम्रो भोगाई हो भन्दा फरक पर्दैन । बिसौँ सताब्दिको अन्त्यतिरको नेपाली समाज संस्कृति अनि सामाजिक भोगाइलाई समेटेर लेखिएको नाटकले सभ्यता र विकासको खोल ओढेर बसेको आजको हाम्रो समाजको प्रतिनिधित्व गरेको छ । लाग्छ यस नाटकलाई पुन: मन्ञन गर्नुले पनि हामी बाँचेको समाज त्यस परी स्थितिबाटै गुज्री रहेको छ भन्ने पुष्टि गर्नु हाे ।
नाटक हेरुन्जेल आफू सानो हुँदा आफ्नो प्रेमीसँग भागेर बिहे गरेकी गाउँकै एक जना दिदीको तस्बिर आँखामा आइरह्यो जसलाई भागेको एक हप्तापछी खोजेर ल्याई आफूभन्दा पन्ध्र वर्ष जेठो मान्छेसँग बिहे गरिदिएका थिए उनको परिवारले । साँच्ची जुनाकी दिदी मैँया बिहे गरेर कता गइन् होला ? जुनाको लागी रोएको देउराली उनको लागी रोयो कि रोएन ?आफ्नो बिहेको लागी काढेको ऋण तिर्न नसकेर बाबु घरको न घाटाको भएको चाल पाइन् कि पाइनन् ? जिन्दगीको अनिश्चित अनि अँध्यारो देउराली काटेर हिँडेकी जुनासँग कुनै दोबाटोमा भेट भयो कि भएन ? यिनै अनुत्तरित प्रश्नहरुले केही बेर रन्थनाएकै हो ।
काठमाण्डौ आसपासका पहाडी जिल्लाहरूमा बोलिने भाषा अनि त्यसमा लवज र अझ तामाङ संस्कृतिको मिश्रणले नाटकलाई माथि पुर्याउन सफल भएको छ । सामन्ती र शोषित वर्ग बिचकोको भिन्नातालाई सरल तरिकाले प्रस्तुत गरेता पनि कथावस्तुमा पात्रहरु कतै अल्मलिएका हुन् कि झैँ भान भयो । निर्देशकले देउरालीलाई रुवाउन मन्चमै आँसु पठाइदिए हामीलाई सजिलो भयो ।तीसको दशकको लामो नाटकलाई छोट्याउन त सार्है जोखिम उठाएकै हुन् तर नाटकमा जोखिम उठाउने ठाउँ सायद अरू पनि थिए ।
मनबहादुर मुखियाको रचना ''अनि देउराली रुन्छ'' लाई जीवन बरालले निर्देशन गरेका हुन् ।जेठ १५ देखी शिल्पी थिएटरमा मन्चन भएरहेको यस नाटक असार १५ सम्म चल्ने छ ।पवित्रा खड्का, लुनिभा तुलाधर , निराज सुवेदी , चन्द्रप्रसाद पाण्डेय, अनिल सुब्बा, कोपिला ढकाल जान्बी बोहोरा लगायत कलाकारको भूमिका रहेको छ भने सङ्गीत संयोजन किरण चाम्लिङले गरेका हुन् ।
तस्बिर :- शिल्पी थिएटरकाे फेसबुक पेजबाट