शनिवार दिउँसो एक बजे तिर हुनुपर्छ घरका सबै जना बसेका बेला जोगाइराखेको टाइगर ब्याट्री रेडियोमा हालेर रेडियो नेपाल बजाउँदा बेला बखत बज्ने गर्थ्यो गीत 'चोली के पिछे क्या हे'। उति बेला लाग्थ्यो यो गीत जति राम्रो के होला बाफ्रे कसरी सकेको होला यस्तो गीत गाउन जुन सुन्ने बित्तिकै बच्चा मन बुद्रुक बुद्रुक उफ्रिन्थ्यो र मनसँगै घरीघरी ज्यान पनि । कहिले काहीँ गाता नभएको काकाको अघिल्लो वर्षको कापीको अन्तिम पानामा सुरुदेखि अन्तिमसम्म हुबहु सारिएको उही चोलीको गीत गाउने दुस्प्रयास पनि गरिन्थ्यो फेरी कसैले सुनिहाल्ला कि भनेर आवाजलाई घाँटी तिरै लुकाइन्थ्यो । साँच्ची त्यो गीत भन्दा सुन्दर अरू गीत नै हुँदैनन् जस्तै लाग्थ्यो र त काकालाई शनिवार आउनासाथ टाइगर ब्याट्री घाममा सुकाउन सम्झाउँथे । समयले बिस्तारै कानलाई आराम दिन थाल्यो र आँखाले कष्ट पाउन थाले किनकि चोलीको गीतमा अब घरमा आइपुगेको ब्ल्याक एन्ड ह्वाइट टिभीको स्क्रिनमा कम्मर मर्काउँदै कोही नाच्थे केही अनि आफूलाई पनि नाच्ने इसारा गरेझैँ गर्थे। उति बेला गीत अझ सुन्दर लाग्न थाल्यो । बिस्तारै सुनिँदै गए असङ्ख्य गीतहरू कानले भन्दा पनि दिमागले गीतका शब्द सुन्न थाले अनि मनले हो होइन पहिल्याउन । 
मलाई पहिलो पल्ट गीत सुन्दा लाज लाग्यो । अचम्म! गीत सुन्दा लाज? हो मलाई रेडियोमा उ बेला सुनेको चोलीको गीत सुन्दा ५/६ कक्षा पढ्दाताका लाज लाग्न थाल्यो । आफैलाई अप्ठेरो महसुस हुन थाल्यो । कतै त्यो गीत बजिहाले पनि कसैले नसुनोस् झैँ लाग्न थाल्यो । आफूलाई जे सुकै लागिरहे पनि गीत बजिरह्यो स्कुलका कार्यक्रमहरूमा, कसैको बिहे भोजमा वा कसैको घरमा रमाइलो गर्दा । बिस्तारै त्यो लाज कता हराउँदै गयो बरु आज पनि युट्युबमा गीत सुनिरहँदा चोलीको गीत बजिहाले सुन्छु एक पटक सम्झिँदै त्यो दाँतले टोकि टोकि बज्ने बनाएको टाइगर ब्याट्रीलाई । 

 

जब चलचित्र, गीत अनि तिनले बोकेका अर्थलाई बिस्तारै केलाउन सक्ने भएको हुँदो हुँ उति बेला नै बुझेँ कान हुँदै मनसम्म पुग्ने यति राम्रा गीतहरूले लाज बोक्छन् दुई अर्थ बोक्छन् अनि दर्शकको 'होर?' बोक्छन् । मैले मात्र होइन हामी धेरैले सुन्दै आएको चोलीको गीत अर्थात् सन् १९९३मा बनेको बलिउड चलचित्र 'खलनायक' को गीत 'चोली के पिछे क्या हे' ले तत्कालीन बलिउडमा एउटा तरङ्ग नै ल्याएको थियो । गीतले द्विअर्थ बोकेको र छाडा लिरिक्स भएको भन्दै गीतको चौतर्फी विरोध भएको थियो । गीतका रचनाकार आनन्द बक्सीको त झन् खेदो नै खनिएको थियो । गीतकी गायिका अल्काको पनि विरोध भएको थियो।तर एका तिरको यो विरोध अर्को तिरको गीतको सफलता दुबैलाई जित्दै गायिका अल्काले त्यस वर्षको फिल्म फेयर अवार्ड हात पारिन् । त्यति बेला गीतको १०मिलियन साउन्ड ट्र्याक एल्बम बिक्री भयो । आज पनि बलिउडको हटेस्ट गीतको रूपमा यसैलाई मानिन्छ । यसैलाई पछ्याउँदै बलिउडमा कैयौँ गीतहरू बनाइएका छन् । जुन विवादमा तानिन्छन् आवाज उठाउनेहरू महिलालाई नाङ्गो बनाइयो, बस्तु करण गरियो आदि बहस गर्दै गर्छन् गीत हिट हुँदै जान्छ अनि हामी आइपरे तिनै गीतमा मस्त नाचिदिन्छौँ पनि, आखिर गीत त गीत हो यसले सबैलाई प्रभाव पारिहाल्छ । 
आजसम्म बनेका अधिकांश गीतले प्रेमको भाका बोल्छ, संसारमा प्रेममा बनेका हरेक कुरा अरू भन्दा बढी नै रुचाइन्छ । प्रेम भनेको मिलन मात्र होइन बिछोड हो, बिछोडको कथा भएको जुन सुकै कला हामीलाई मन पर्छ अझ मिलनको कथा भए झन् उत्कृष्ट । हामी यस्तो समाजमा छौँ जहाँ महिलाको आवाज दबिएको, पछाडि पारिएको भन्ने विषयमा हरेक पटक बहस गर्छौँ । तर हामी हुर्किएको जमिन यसलाई उर्वर बनाउने हात अनि हामीलाई सिँचित गर्ने समाज कस्तो छ बुझ्न छुटाउँछौँ। हामीले पढ्ने साहित्य, हामीले सुन्ने गीत, हामीले हेर्ने चलचित्र मात्र नभएर हामीले हाम्रो जीवन बाँच्ने घरमा महिलालाई कसरी प्रस्तुत गरिएको छ सोच्न फुर्सद होला नहोला तर एक झलक नजर लगाउने फुर्सद त पक्कै होला । यसै समाजले हुर्काएको, बचाएको अनि जोगाएको चलचित्र, गीत सङ्गीत अनि विज्ञापनमा महिलालाई कसरी प्रस्तुत गरिन्छ त्यो वर्षौँदेखि देख्दै आइरहेको हो भोग्दै आइरहेको हो । 

 

यही समाजले जन्माएको एउटा कलाकार लेखक वा भनूँ सर्जक जसको मानसिकताले नै महिला र पुरुषबिच भिन्नता र दुईलाई हेर्ने नजरको फरक बुझेको छ उसले आफ्नो कलामा ल्याउने भनेकै दिमागको तेस्रो तहमा हुने आवेगहरूलाई हो । भनिहालूँ पुरुष सर्जक मात्र यसको दायरामा पर्ने होइनन् । हामीले देखेका छौँ पढेका छौँ र धेरैले भोगेका छौँ । केही वर्ष अघि गायिका कोमल ओलीले तिज गीत 'पोइला जान पाम् ' सार्वजनिक गरिन्। सुन्दा रमाइलो अनि कम्मर भाँचेर नाच्न मजा आउने उक्त गीतले महिलालाई कति सम्मान गर्‍यो त्यो भनी राख्नु पर्ने कुरा होइन । यत्ति बुझौँ अधिकांश गीत होस् या चलचित्र आजका दिनसम्म महिला केन्द्रित नै हुने गरेका छन् । तिनले कि त महिलालाई पुरुष पात्रका जीवनमा आइपर्ने घटना परि घटना, उतार चढाव सबैको जिम्मेवारीको पात्रका रूपमा उभ्याउने गर्छन् कि ग्ल्यामरका नाममा शारीरिक शोषण । भल्गारिटि केबल शरीरमा होइन सोच अनि स्थानले देखाउँछ । हाम्रो लगायत बलिउड सिनेमा कै प्रसङ्ग निकालूँ महिलाको अङ्ग प्रदर्शन गरियो भल्गारिटिलाई चलचित्रको हतियार बनाइयो भन्ने विचार मनग्गे सुनिन्छ अनि यही समाजमा महिला मात्र भोग्या अनि बस्तु हुन् भन्ने व्यवहार गरिन्छ । उता पश्चिमाहरू आर्ट मुभी भन्छन् र शरीरका हरेक अङ्ग कला हो भन्दै प्रस्तुत गर्छन् , हामी वाह! भन्दै हेर्छौँ अनि यस्तो पो फिल्म भन्छौँ । यता सुगठित शरीर सुन्दर अनुहार अनि मान्छेको नजर तथा मन लोभ्याउन सक्ने अदा हुनु महिलाको गुण मानिन्छ । यस्तो समाजमा जहाँ शरीर कला त परै जाओस् सके भोग्ने नसके टाढै बाट मूल्याङ्कन गर्ने मानसिकतामा हुर्केका छौँ हामी । यसैबिच हामीले कुनै कलाकारले सृजना गरेको कुराले महिलालाई अपमान गरियो र महिलामाथि मजाक गरियो भन्नू कति सम्मको अर्को मजाक हो त्यो भनिराख्नु पर्ने भएन ।

पछिल्लो केही दिनयता गायक आर्जन पाण्डेको गीत 'घाँटी भन्दा तल' यही विवादमा परेको छ। गीतमा 'घाँटी भन्दा तल त राम्री नै छे' भन्ने लाइन छ जसलाई लिएर विभिन्न टिक्का टिप्पणी भइरहेको छ । गीतले महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएको आरोप लागेको छ । समग्रमा भन्नू पर्दा गीत समाजले महिला प्रति राखेको मानसिकताको उपज हो । जसरी एउटि महिला प्रति हेर्ने नजर उसको शरीरले र सुन्दरतामा अडिन्छ, न उसको मानसिकता हेरिन्छ न मन उसै गरी गीतका शब्दहरूले बोलिदिएका छन् । ९० को दशकमा जसरी चोलीको गीतले अनेकन् विवादका बाबजुद सफलता पाउँदै गयो उसै गरी अझ अबका केही दशक वा भनूँ हामीले बाँचिरहेको समाजको पुनर्जन्म नभएसम्म यस्ता गीतहरू बनिरहन्छन्, बजिरहन्छन् अनि हामी सुनिरहन्छौँ बोल्न परे बोल्छौँ र फेरी गीतको तालमा परिआए कम्मर पनि मर्काउँछौँ ।