..र कहिलेकाहिँ अनेपिक्षीत तवरका विचारहरु मस्तिष्कको च्याम्बरमा दारु पिउन आँउदा रैछन्... मस्तिष्कको यो दारु महल सदा व्यस्त रहने गर्छ, ।विचारहरुको स्वागतार्थ—(तर समस्या पनि खडा हुन सक्छ, सबै दारु पियर ढल्छन् भन्ने अनुमान गर्ने भूल अर्थात सामान्यिकरण गर्नु उपयुक्त नठहरीन सक्छ ।) विचारहरु बहसको मातावेषमा आएर, एक अर्का माथि हात पात गर्न सूरु गर्न सक्छन्, र स्व—नियन्त्रण गुमायर पर—नियन्त्रणमा आर्कषित हुन सक्छन् । यदाकदा यस्तै प्रकारको विवादास्पद अवस्थाको सिर्जना गर्ने गर्छन् यी स्व—कथित स्वतन्त्र विचारहरु । विचारहरुका स्वतन्त्र उदण्डता नियन्त्रण गर्नको लागि हुदयको गोलघरमा टेलिफोन गरेर भावनाका कमजोर सिपाहीको माग गर्न सकिन्छ । मस्तिष्क एक भद्रगोल प्लेटफार्म हो—विचारहरुको—एक सुन्दर बगैँचा हो । थरिथरिका वैचारीक फूलहरुको दुर्गन्धले पृथ्विी प्रदुषित बन्दै गएको छ भन्नमा कञ्जुस्याँई गर्नु परोइन् ।
मस्तिष्क विचारहरुको मधुशाला, अदालत, बसेरा—स्थाई,अस्थाई—चिहान यस्तै यस्तै सबै चिज । संसारका यी तमाम साहित्यीक, दार्शनिक, धार्मिक पुस्तकहरु मस्तिष्क नामक चिहानबाट उत्खनन गरियका विचारका फोसिल, अवशेष ।
—स्वागत छ !
समयको लामो खाडल पश्चात तमाम परिपुरकीय आवश्यकताहरुमाझ मैले आफुलाई निरिह फेला पारे एक साँझ, नगरको आफ्नै बसेरामा । पश्चिमी किनारामा पुगेको सुर्य बिदाइका अन्तिम किरणहरु माझ लुकेको थियो । नगरका मानवहरु सन्ध्याकालिन मनोरञ्जनको मार्गमा आफुलाई डो¥याउने तरखरमा थिए ।
नगरको मध्यभागमा रहेको मेरो बसेरामा बिस्तारै अध्याँरोको प्रवेश भयो । बसेराको चारैतर्फ नजर दौडाए । पश्चिमी किनाराको ओच्छ्यानमाथि सिरक र मैले पहिरनहरु केहि थान वस्त्रहरु अलपत्र अवस्थामा छन् । छेवैमा एक डल्लो पुस्तक असाहय मुद्रामा छ । उत्तर तर्फको भित्ताको आडमा एउटा मध्यम उचाइको दराज छ, दराजभरि पुस्तकहरु कैद छन् । पूर्वको किनारामा लुगाहरु टङग्याउने ह्याङगर छ , जसमा अहिले मेरा निजि वस्त्रहरु आत्महत्या पोजमा झुण्डिएका छन् । र अब रह्यो दक्षिणी किनारा यो किनाराको मध्य भागमा काँचको पारदर्शि झयाल छ । जुन मैले बन्द गरेको छु । त्यसको ठिक मुन्तिर एउटा टेबिल छ । टेबिलमा ऐना र केहि थान मल्हमहरु छन् । एउटा काइयो र प्रेमिकाले प्रेम भेट चढाएको बास्नादार अत्तरको सिसी छ । टेबिलको आडैमा रहेको काठको कुर्सिमा मेरो ५४ किलोको ख्याउटे देह स्थापित छ । दक्षिण तर्फको किनारामा रहेको ढोकाको कुनामा दुई जोर जुत्ता र ८–१० ओटा गन्हाएका मोजाहरु असरल्ल छन् । भुइँमा टासिएको कार्पेटमा भातका सिताहरु र चुरोटको खरानी छरपष्ट छ ।
कोठामा सुर्यको किरणलाई प्रवेश निषेध गरिएको भएपनि,कोठाभरी पर्याप्त मात्रामा प्रकाश व्याप्त छ । बाह्य वातावरणको कोलाहल बेला–कुबेला कोठामा प्रवेश गर्न सक्छ । अवस्थानुसार । अतः उत्तरी भित्तामा टासिएको घडिमा ५ः४३ भयो । कुनै सस्तो दामको बिस्कुट, चाउचाउका खोस्टाहरु, घाइते कागजहरु र विर्यले लतपतिएका कपडाका टुक्राहरुले ढोका छेवैको बाल्टिन ओगटेका छन् । कोठा पूर्ण रुपमा अस्तव्यस्त प्रतित हुन्छ । बसेरामा निर्जिव वस्तुहरुको बाहुल्यता देखेर मन खिन्न भयो । मस्तिष्कमा विचारको विपरितागमन हुन्छ । “मैले यि तमाम निर्जिव वस्तुहरुमा जिवनदान गर्नु पर्छ अथवा मैले स्वयमंलाई निर्जिव घोषणा गर्नु पर्छ ।”मैले यस्तै सोचेँ ।
तर म दुवै कार्य गर्न असमर्थ ठहरिन्छु । चिकित्सकहरुले मेरो ऋतुदान गर्ने क्षमतामा गिरावट आएको बताएका छन् । तसर्थ म यि तमाम वस्तुहरुमा जिवनदान गर्ने असफल प्रयास गरेर आफुलााई असफल मानवको सुचिमा दर्ज गराउन चाहान्न । मानवको तथ्याङकमा मेरो गणना हुने भएकोले म आफुलाई निर्जिव घोषणा गर्ने औकात राख्दिन । अथवा निर्जिव हुनको लागि मैले आफैलाई मृत सावित गर्नु पर्ने टड्कारो आवश्यकता आइलाग्छ । तर म कसरी आफैलाई मृत सावित गर्न सक्छु ? यो कर्म त चिकित्सकहरुले पो गर्ने गरेका छन् । यसरी अर्काको कर्ममा हस्तक्षेप गर्नु प्रजातान्त्रिक शैलीको खिलाफ ठहरिन सक्छ । म आफु चिकित्सक बन्न नसकेकोमा खेद प्रकट गर्छु ।
उल्झनको जड तत्व भनेको म म सजिव भइकनपनि पूर्ण तवरमा निर्जिव माल मत्ताहरुले घेरिएको छु । सोचमग्न हुनुपर्ने बाध्यता आइलाग्छ । सोचमग्न भएर आफुलाई शोकमग्न यात्री ठाने । अह ! होइन म यात्रारत त थिइन । त्यसो भए मैले किन ठाने कि म शोकमग्न यात्री हु भनेर? के म यात्री हुने ल्याकतको छैन र ? म दुबिधाको सागरमा पौडिन थाले । आफ्नो मनोदशाको गरिव अवस्थाप्रति हृदयमा दयाभाव उत्पन्न गरे ।
समय बितेको हुनु पर्छ बाहिरको अध्याँरोबन्द ढोकाबाट अनुमती बिनै कोठामा छि¥यो । आँखाहरु अन्धकारमा टोलाउन थाले । अन्धकारले ठाउँ ओगट्न कुनै कसर बाकि राखेको थिएन् । मेरा आँखाहरुले उज्यालको आवश्यकता महशुस गरेको जानकारी मेरो मस्तिष्कले पायो । मस्तिष्कको चाहना विपरित मैले चुरोट सल्काए र त्यसैको उज्यालोमा आखाँलाई भुलाउने यत्न गरे । ज्ञानि आँखाहरुले मेरो यत्नलाई असफल बनाएनन् । निष्पट्ट अन्धकारमा मैले चुरोट चुसे, रित्याय विचारको भकारी ।
मैले पहिरीयको खरानी रंगको अर्ध क्ट्टूभित्र केहि न्यानो चलमलायो । सायद यो न्यनोपना मेरो निजी लिङग्को हुनु पर्छ भन्ने मैले अनुमान गरे । र अनुमान सहि सावित हुन गयो । यसले बेला मौकामा खडा हुने सार्मथ्य राख्छ । यस अर्थमा यो निकै सार्मथ्यवान ठहरिन सक्छ । यसको सक्रियताले मलाई निष्क्रिय बनाएको छ । बसेराको पश्चिमी भित्तामा चिप्कीएको अपरिचीत नायीकको अर्धनग्न तस्बीरमा मेरा एक जोर आखाँहरु टासिएका थिए । कहिलेकाहि यो तस्बीर स्वैर कल्पनाको उडानको इन्धन बन्ने गरेको थयार्थ यहाँहरु सामु व्यक्त गर्न पाउँदा आफुलाई रतिभर लज्जित महसुश गरेको छैन् ।
संविधानत मैले मेरो स्वतन्त्रताको उपभोग गरेको छु । किनारा लागिसकेका विचारहरु पून मष्तिस्कको मध्य भागमा कब्जा जमाउन आइपुगे । स्मृतिको लहरले बगाएर मलाई सपनाको टापुमा पु¥यायो । केहिबेर अघिको निन्द्र्रावधिमा मैले सपना देखेको थिए । (यो मेचमा बस्नु अघि म निदाएको थिए ) अथवा सपनाहरुले मेरो अवचेतनको दासत्वबाट उन्मुक्ति पाएका थिए । स्वतन्त्र भएका थिए मेरा रहरहरु,चाहहरु । युगौं पछि यीनिहरुले स्वतन्त्रताको उपभोग गर्ने सौभाग्य प्राप्त गरेका थिए । दुर्भाग्यवश मेरो निन्द्रावधि समाप्त भयो । सपनाहरु फेरी अवचेतनको खाडलमा पुरिए, भाशिय, गाडिय । यथार्थको क्रुरताबाट तिनिहरुले आफुलाई छिपाए । हुन सक्छ यथार्थले तिनिहरुको हत्या गरेको होस ।
यथार्थ र सपनाको तालमेल सायद मिलेको छैन क्यारे ! म बताउन सक्छु म संग कुनै रहरलाग्दो भविष्य छैन, नत कुनै सम्झनायोग्य विगत... र यो वर्तमान नै मेरो प्राररब्ध हुनु पर्छ । मान्छेहरु विगतका यादहरुमा आफ्नो वर्तमान खर्च गर्छन र भविष्यका डरलाग्दा योजनाहरुको निर्माणमा लाग्ने गर्छन् । मलाई लागेको हुनु पर्छ मानिस विगतबाट उम्केर, भागेर आएको भविष्यको कैदि हो । अस्तव्यस्त योजनाहरुको संगालो हो—भण्डारगृह—मानिस । योजना, भविष्य, चाहना, रहर आदि सबै पिडाप्रद जीवनका अमिट स्रोत हुन् । र मैले आग्रह, याचना गर्नु पर्छ “मृत्युको योजना निर्माणमा सहयोग पाउँ ।”
मेरा आवश्यकताहरु थपिदै गएका छन् । आवश्यकताले मलाई एक्लो बनाएका छन् । म हरेक दिन सोच्न थाल्छु “कुनै दिन म धनि हुनेछु ।” अथवा “कुनै रात म प्रसिद्ध हुनेछु ।” तर म धनि बनेर प्रसिद्ध बन्ने वा प्रसिद्ध बनेर धनि बन्ने भन्ने विषयमा निर्णय गर्न सदा असमर्थ रहदै आएको छु । तसर्थ म कुनै बेला आफ्नै निर्णय क्षमता माथि अनिर्णायक प्रहार गर्ने निर्णय गर्दै छु । निर्णायक घडिको पर्खाइमा मैले चुरोटको अन्तिम पटक दाह संस्कार गर्नु प¥यो । पाईलट चुरोटको धुवाँ बन्द कोठमा बिलुप्त भयो । बाध्यकारी प्रश्न मष्तिस्कमा देखा प¥यो । धुवाँ बिलयन गराउनमा कुन तत्वको हात, खुट्टा, दिमाग वा पुरै शरिरको प्रयोग भएको छ ? जवाफमा हात लाग्यो शुन्य । शुन्यताले धुवाँ बिलयन गराएको कुरामा मेरो निरंकुश मष्तिस्कले बिरोध जाहेर ग¥यो । मष्तिस्कको बिरोधबिच मैले चुरोटलाई कोठको कुनै कुनामा मिल्काए । पुत्ताउदैँ गरेको चुरोटले आफ्नो अस्तित्व समाप्त भएको घोषणा ग¥यो ।
मैले सदा झै आफुलाई जीवीत राख्न व्यस्त रहनु पथ्र्यो, र जीवीत भविष्यको कल्पना गरिबस्नु पर्ने हो । मसंग कुनै व्यक्तिगत भविष्य छैन... तै पनि समयको क्षयीकरणका लागि भविष्यको कल्पना गर्छु..र दुःखी हुन्छु । दुःखी यसर्थ कि मैले भविष्यमा पनि जीवीत रहनु पर्ने हुन्छ ।
अचानक यादहरुको बाढीमा हृदय र्चुलुम्म डुब्यो । मेरी प्राइभेट आमा कहिलेकाहीँ भावुकता र मातृत्वको सागरमा पौडीदै भन्ने गर्नुहुन्छ । “बाबु तिमी मेरो संसार हौ, जिवनको भरोसा हौ । कमसेकम तिमी मेरो जिवित सपना हौ ।” आमाका यि बचनहरु श्रवण गरेर म कयौँ पटक मन्त्र मुग्ध हुन पुगेको छु र सोच—विचारको गहिरो खाडलमा भासिएको छु । अहिले यो निर्जिव काठको मेचमा बसेर म सोच्न सक्छु “म जाबो ५ फुट ५ इन्च उचाई र ५४ किलो तौलको मनुवा कसरी पुरै संसार हुने ल्याकत राख्छु ?” दयाभाव उत्पन्न हुन्छ आमाको मस्तिष्कको भावनात्मक क्षमताप्रती । कति सानो संसारमा मान्छेहरु आफुलाई खुम्च्याउछन् यो भूमण्डलीकरणको युगमा । जो आफैले देखेका सपनाहरु भुल्छ र जसका कुनै निजी सपना छैनन् त्यो कसरी अर्काको सपना बन्ने औकातमा पुग्न सक्छ ? एकाएक मलाई आत्मबोध हुन थाल्यो आमाले सपनामा रम्दै गर्दा मलाई यो मानव संसारमा पर्दापण गराएको हुनु पर्छ अथवा आमाका सपनाहरु मैले विथोलेको हुनु पर्छ त्यसकाराण आमा मसंग आफ्ना सपनाको भर्पाई माग्दै हुनुहुन्छ । मातृत्वको आड लागेर ।
सपनाहरु काल्पनीक हुन्छन यथार्थसंर्ग सपनाको दुर–दुरको पनि साइनो हुदैन भनेर ज्ञानीहरु फलाक्ने गर्छन । तर म यथार्थ हु, म ठोस जिव हु । सबैभन्दा बढि त मैले आफैलाई सजिव महसुस गरेको छु । यस अर्थमा मेरी अमाको सपना जिवित सपना हो, ठोस धरातलको मुर्त सपना हो । भन्न सकिन्छ पहिलोपटक सपनाहरु जिवित भएका छन् यथार्थसंगको समागमबाट । भावुकतावश मेरा आखाँहरु कमजोर हुन्छन् । टेबलमा रहेको पानीले आफुलाई शान्त पारे ।
प्राय म खिन्न हुने गर्छु मेरा कुनै जिवित सपना छैनन्, प्रेमिल आवश्यकताहरु छैनन् । न त यौनीक प्रेमिका नै छन् । छन् त केवल निमेषभरका आवश्यकताहरु जो आवश्यकता भन्दा धेरै आदतको सीमा भित्र पर्छन् । आअश्यकताको एक लामै फेहरिस्त सूची बनाउने मेरो उहिल्यै देखीको चाहना हो । हालको मेरो आवश्यकता के हुन सक्छ ? म मेरा आवश्यकताहरुको सूची बनाउने तरखरमा लाग्छु । एक, दुई, तीन..निरनतरको प्रयास पछि पनि मैले आवश्यकताको पहिचान गर्न सकिन् । कोठाभरी सम्पूर्ण माल मत्ताहरु यथावत छन् । सडकमा सवारी साधनको चाप कम भएको हुनु पर्छ कोलाहलको धव्नि कम भएको छ । कोठमा चुरोट र मोजाको गन्ध व्याप्त छ । एक डोज परफ्युम छर्किन्छु... (प्रेमीकाको उपहार) कक्टेल बास्ना ।
आदतहरुको राज्यमा म कैद छु । मेरा भावनामाथी मष्तिस्कले सांघातकि हमला गरेको छ । अस्तित्वको गुनासो साखा कता छ ? म दौडीने प्रयासमा छु । अँ त मैले मेरो आवश्यकता पत्ता लगाए “टुथ पेष्ट अर्थात दन्त मञ्जन” बडो हैरानीका साथ भन्नु पर्छ पेमीकाले मलाई त्याग्नुको मूख्य कारक तत्व नै यही हो । आजै, अहिल्यै किन्नु पर्छ । दातहरुमा खिया लागिसकेको हुनु पर्छ ।
मष्तिस्कमा लहरै आवश्यकताहरुको लाम लाग्छ । (आवश्यकताहरु यहाँ प्रस्तुत योग्य छैनन् ) मेरा सम्पूर्ण आवश्यकताहरुको माग कर्ता र आपुर्तिकर्ता दुबै म स्वयम हु । जो कोठको मेचमा बसेर आवश्यकताहरुको सूची तयार पार्नमा व्यस्त छ । क्रमश...आवश्यकताहरुको सूची मेरो स्मरण क्षमता भन्दा बाहिर जान थाल्यो । सम्पूर्ण आवश्यकताहरु कुनै न कुनै तवरमा मसंग नाता जोड्ने संम्भावना राख्छन् । मेरो पनि यी सबै आवश्यकताहरुसंग कुनै नाता पो छ की ? अथवा यि आवश्यकताहरु विरासत स्वरुप प्राप्त जिनिस पो हुन कि ? आवश्यकताहरुको असिमित मागले मलाई पिडा र अतृप्तीको चुम्बन दिएर गए । मुटु आफ्नै गतिमा चलिरहेको महसुस मैले गरेको थिए । म महशुस गर्न सक्थे आफ्नो जिवितपनाको । मैले खुशि हुनु पर्छ सायद । कुनै दिन मलाई लाग्न सक्छ आवश्यकताहरु मेरा निजी माग होइनन् ।
मेरो देह काठको कुर्सिमा निश्चल थियो मानो कसैले मलाई त्यो कुर्सिमा स्थापित गरेको होस । मुर्तिवत । म दंग परे आफैलाई देखेर, मस्तिष्क निरन्तरको यात्रामा थियो । विचार, भावना आदी इत्यादी...एक्लै—एक्लै विचारको कठिन पहाड आरोहणमा व्यस्त थियो । मष्तिस्कलाई आफ्नो नियन्त्रणमा राख्ने इच्छा निकै लामो कालदेखी मेरो हृदयमा संर्घषरत छ । र म पुर्ण विश्वासका साथ भन्न सक्छु मलाई मस्तिष्कको निरंकुश हस्तक्षेप पटक्कै सह्य छैन । दुर्भाग्य मस्तिष्क सदा मानव माथि हावि हुदै आएको छ । जे सुकै होस हामि एक अर्काका आवश्कता हौ । तसर्थ मेरो कुनै गुनासो छैन । आवश्यकताहरुले आत्महत्या गरेको राज्यमा नियमहरुको खडेरी परेको छ । शासकहरु मुक दर्शक बनेको छन । मस्तिष्क बौलाउने तयारीमा छ । चुरोटको तलतल लाग्नु पनि चेतनाको परिहास हो । विचारहरुको भुमरिमा मेरो देहको अन्तिरीम संस्कार हुने वाला छ ।
अनावश्यक विचारहरु मस्तिष्कमा देखा पर्नु कुनै नविन कर्म हैन तापनि यी छेउन टुप्पोका विचारहरु आफ्नै मस्तिष्कका उत्पादन हुन् भन्नु पर्दा मलाई अपनत्व र घृणा बोध एक साथ हुन सक्छ ।
आवश्यकताहरुले नराम्रैसंग लडाए मेचबाट, पछारिएको म जुरुक्कै उठेँ र कोठाको एक चक्कर लगाएँ चुरोट सल्काएँ । ओच्छ्यानमा रहेको किताब उँठाए र प्रमिकाका यौनिक ओठहरुको सम्झना गरे । आफूलाई सम्हाल्दै मेचमा राखेँ । पूर्ववत अवस्थामा मस्तिष्कमा शुन्यताले डेरा जमाएको छ । हृदयलाई आवश्यकताहरुले मसान घाटमा रुपान्तरण गरेका छन् । विचारहरु वेश्यालय धाउँदैछन् । नग्नतामा निमग्न मेरो देह कोठाको भग्नतामा छताछुल्ल पोखिएको छ । चुरोट सकियो । आवश्यकता थपियो । संसर्गको मौसमले पृथ्वीमा पर्दापर्ण गरेको हुनुपर्छ । कुकुरहरुको कोलाहल चर्को हुँदै गइरहेको छ ।
मेरो स्मरण क्षमतामा हसआउँदै गैरहेको व्यहोराको जानकारी मैलै पाएको छु । मेरा जीवनका प्रचीन दिनहरु स्मरण गर्ने प्रयासमा म लाग्छु । प्रयास विफलताको सूचीमा टाँसीन पुग्छ । हृदयका कुना काप्चाहरुमा आमाका ममतामयी यादहरु लुकामारीमा व्यस्त छन् । ममता र मातृत्वको अभावमा मेरो हृदय बञ्जर भएको रहेछ । बेलाकुबेला प्रेमिकाले गर्ने मलजल बेग्लै हो । आशु बगाउन चाहन्थे आमाको याद स्वरुप तर आँखाहरुले मरि गए मानेनन् ।
स्थिरताको आशमा मैले कैँयौ अस्थिर रातहरु चन्द्रमाको जुनकिरी उज्यालोमा गुजाँरे । संगितको मिठासमा दिनहरुलाई शितलता ताप्न प्रेरणा प्रदान गरेँ । तैलिय चित्रहरुको तेलमा मैले मेरो देह डुबायको छु, स्नान गरेको छु ।
यी सबै भावनात्मक धारणाहरु हुन् जसको यथार्थसंग कुनै तादम्यता नहुन सक्छ । जीवन कल्पनाको सागरमा डुबेको छ । म बुबुरो यथार्थको किनारामा अस्तित्वको जहाजको पर्खाइमा छु ।
युग वित्यो, मानविय उच्चाभाषको खोजिमा मानव समूदायले आफ्नो विर्यको दुरुपयोग गरेको छ । योनिहरुको आकारमा वृद्धि भएकोले मस्तिष्कको भारवहन क्षमतामा हस पैदा भएको हुनु पर्छ । युवतीहरु मस्तिष्क भन्दा ठूलो वक्षस्थलको भारी बोक्न बाध्य पारिएका छन् ।
भारी भरकम संसारमा आफूलाई एकलब्य सावित गर्ने होडमा म द्रोण किन हुन सकिन भनेर पछुतो मनाउ गर्न सक्दिन । जागतिक जालमा म आफूलाई पार्न इच्छुक छैन तापनि जागतिक मानवका नातावश जगतको चिन्ता गर्नु मेरो कर्तव्य हुन जान्छ । जगत र जिवनको समागममा म आफूलाई पैदा गर्न लालायित छु । सासंरिक मानवहरुको झुण्डबाट उछिटिएर म कता पो जाने होला ? मौनताले व्याप्त आन्तरिक वातावरणमा नितान्त एक्लो पाउँछु । धरमराएको ज्यान मेचमा अडिन कठिन ठान्छ । मेरा हातहरु लुला भैसकेका छन् । एक जोर खुट्टाहरु मेचमा झुन्डिएका छन् । मौनतामा अन्धकारको प्रवेश भैसकेको छ । क्षितिजका गुलाबी रंगहरु धुमिल हुँदै गइरहेका छन् । कसैले मलाई बोलाएको हुनु पर्छ, दुर कतै निर्जन पठारमा । म साँघुरिदै गएको छु । हृदय संवेदनाको नियन्त्रणबाट बाहिर पुगिसकेको छ । मस्तिष्कले ठेगाना परिवर्तन गरिसकेको छ । म कुनै गिलो र अन्धकारले व्याप्त गनाउने दुलोमा प्रवेशरत छु ।
चिहानको मौनतामा मृत्युको कोलाहल सून्न लालायीत छन् मेरा बहिरा कानहरु । हाम्रो अन्तिम मुलाकात कहिले भएको थियो ? तर मैले विश्वास गर्नैै पर्छ हामी आजैको मितीमा छुट्ट्यिका थियौँ । आत्मरतिको लागि भन्न सकिन्छ, छुट्ट्निु पनि भेटिनु नै हो । र दूर्भाग्यसाथ भन्नु पर्छ हामीले हाम्रा निजी आत्माहरुका निकै कम मूल्यमा सटही गरेका छौ । मौनताको कुन धरातलमा तिम्रो चिहान छ ? यहाँ त चिहानहरु पनि आफ्नै मृत्युको प्रचार गर्छन् । नगरमा हल्ला छ ।
भित्ताको घडि —५ः४३
—मा अडिकिएको छ । स्थिर ।