स्मृति तिर खिया लागेको कल र काठको घर श्यामस्वेत तबरले चलमलाउछ।पुरानो रङ उडिसकेको बाटो र बाटोमा दौडदै हिड्ने नादान आँखा मात्रै तेर्सिन्छन् मेरो अघि।सिधा बाटो र बाटोको दुई किनारमा उभिएका झ्याम्म परेका सिसौका बोटहरु।

पहिलै यहाँ म आइपुगी सकेको जस्तो लाग्छ।सानो तिर्खालु नदि बाँस झ्याङको जरा भिजाएर हिडेको पनि बर्सौ देखि हो ।साइकलको मद्दिम रफ्तारमा थरुनी अनुहार सडकको छेउ छेउ दौडिएको पनि युगौ अघि देखि हो।सुरिलो सुपाडीको बोटको कायामा मेरा पैतालाहरु गाडिएका छन् ।केराको विशाल घारी तिर कोहि तपस्या गरिरहेको होला कि झै आभाश हुन्छ।मधेस मेरो केही नभए पनि सबथोक झै भएर मलाई यतिका वर्ष रुमानी बनाउन मद्दतिलो देखिएको छ।मसलाका चिल्ला रुखहरुको छेउमा उभिदा म अर्कै मानिस भैसक्दो रहेछु।धोतिको एक छेेउ पटुकिमा घुसाएर झरिहरु को आहालमा हिडिरहने मधेस मुलको अनुहार मलाई औधी प्रियकर लाग्छ।तिनिहरुनै हुन मभित्र वशिभुत भएर मलाई ध्यानस्थ छाडिदिने।धानका बियाड को कलिलोपना कति कायाल बनाउने हुन्छ्न्…खरको छानो लगाको झुप्रो र त्यतै तिर भैसिमा चढेर अघि बढ्दै गरेका मधेतका ती केटाकेटी म हुन नसकेको बिम्बहरु हुन्।ती म बाचुन्जेल बाचिरहने कथाइकाहरु हुन्।घुम्ती नेर राखिएको पानपसलेको दुकान अझै पनि उस्तै देखिन्छ एक निमेष अघि देखेको दृश्य जस्तो।

किनारमा आधा डुबेको डुङ्गा कस्को थियो होला?मन्दिरमा त्यतिबेला कसले टङटङ घन्टी बजएको थियो होला?को थियो होला म हिड्नै लाग्दा खाली खुट्टै नदिमा दौडिरहेकि जलकुम्बी?? फाटहरुसँग मेरो फेहरिस्त निकै पर सम्म फिजिएको छ।ती मुलायम बिगतका भर्याङ चड्दै चड्दै म एकदमै पुर्ण तामा भिजिसक्छु।हरेक छुटाई ,हरेक बिच्छेदका तमाम रङमा मेरा विगतका अफ्ठ्यारा/सजिला किस्साहरु गासिएका छन्।मसँग केही पनि छैन …रिक्तता मेरो छाँया हो तर यहि रिक्तता मेरो पुर्णता पनि हो।म यहाँ सम्म आइपुग्दा मेरा हजार दुखहरुको साक्षी त्यही भुगोल थियो जहाँको पोल्ने घाममा म आँपका गाछिहरुलाइ ओत बनाउथे।जहाँको यादगार पोखरीहरु, बाँधहरु ,बासझ्याङहरु,ताडिक बोटहरु म हुनुको प्रमाणहरु हुन्।मैदानमा खेलिरहने कोहि कोहि देखिहाले भने अझै पनि यस्तो लाग्छ कि म अनुपस्थिती उसले ओगटेको हो।मधेसमा मेरा मृदुल र मायावी मिठासहरु खाली खुट्टा हिड्छन् र म यहाँ शहरमा आवरणमा निकै खाली खाली हिड्छु।अलि अलि किरिङमिरिङ यादका बादल आखाको पर्दामा झल्यास्स देखिन्छन् र फेरि कहाँ बिलिन भैदिन्छन् थाहा पत्तो हुदैन।म यसरी कति पटक डुबिसकेछु प्रिय विगतका चहकिला दिनहरुमा।त्यतिबेला पागल हुरि जसरी विसंगत नाचिहेर्न मन लाग्छ ती स्मृतिका वस्तिहरुमा।ति दिनहरुको पर्खालमा उभिएर म सधै उदाउदै गरेको र डुब्न लागेको एउटा घाम हेरिबस्छु।म यसरी नै स्वप्निल बनिरहुँ..यसरिनै हिडिरहुँ कोलाहल भन्दा पर।
तस्बिर:शिरीष