जीवनका आयामहरुलाई दृश्यमा रुपान्तरण गरेर कलात्म ढंगबाट प्रस्तुत गर्नु सिनेमाको पहिलो खुबि हो । विश्व इतिहासमा १८९० को दशकमा सिनेमाको सुरुवात भएको पाइए पनि नेपालमा भने झण्डै ६ दशक पुग्यो सिनेमाको सुरुवात भएको । सिनेमाको सुरुवातसंगै यसले प्रस्तुत गर्ने दृश्यहरुमा मानिसले आफ्नो जिवनका छायाँहरु खोज्न थाले, प्रश्न गर्न सकिन्छ कतिले भेटाए आफ्नै छायाँ ?
प्रविधीको निरन्तरको विस्तार र सफल प्रयोगले सिनेमा जगत पनि अछुतो रहन सकेन्, अझ भन्न सकिन्छ यदि कुनै विधाले प्रविधीको उच्चतम प्रयोग गरेको छ भने त्यो सिनेमा नै हो । त्यसैको फलस्वरुप सिनेमामा विभिन्न प्रकारका प्रविधीगत प्रयोगहरु गरिन थाले । प्रविधीको प्रयोगले आज विश्व जगतमा सिनेमा सबैभन्दा सफल कलात्मक विधाको रुपमा लिइन्छ । यस अर्थमा सिनेमा भाग्यमानी ठहरिन पनि सक्छ । प्रविधीको प्रयोगले कलात्मकतामा निखार ल्याउन सकिन्छ भन्ने कुराको बलियो उदाहरण बनेको छ सिनेमा । सिनेमाले जीवनका कटुतालाई भूलाएर कल्पनाको स्वच्छन्द आकाशमा उड्न पनि सहोग गरेकै छ । सिनेमा ः जहाँ जीवनको एकरसताबाट एकै क्षणको लागि भए पनि उन्मूक्तिको आभाष गरिन्छ । धेरैजसो सिनेमा विशुद्ध मनोरञ्जनमा अल्झिएको पनि पाईन्छ, तर त्यसका अलवा सिनेमा रंगमञ्चको विकसीत र विशाल रुप हो । मूर्तिकला, वास्तुकला जस्ता कलाहरुको विकासमा सिनेमाले गरेको योगदान अनि संगित, नृत्य, काव्य÷कला कथावाचन जस्ता विधाहरुमा देखापरेको विविधता सिनेमाकै योगदान हो । समाज र समाजले बाँचेका यथार्थ र तिनको कलात्म प्रस्तुतिले सिनेमाको जीवन्तताको निर्धारण गर्दछ । सिनेमाको सय वर्षभन्दा बढिको यो इतिहासमा मानव समुदायले सिनेमाको अनौठो विकास क्रम देखेका छन् र भोगेका छन् । गएका केही दशक यता सिनेमा अर्थतन्त्रको ठूलो हिस्सा पनि बन्न सफल भएको छ । सिनेमाले गरेकोे लोभलाग्दो आर्थिक छलागंले सिनेमाको कला र प्रस्तुतिमा पनि केही परिवर्तन आएकै छ । सिनेमाको व्यवसायीक सफलता देखेरै सिनेमा निर्माणको होडबाजी पनि सुरु भएको छ । पुँजिबादी संसारमा धेरै सिनेमाहरु पुँजीबादकै धरातलमा टेकेर आफुलाई उभ्याउन लागि परेका छन् ।
विशुद्ध मनोरञ्जनको अभिप्रायले निर्माण गरिने अधिकांश सिनेमाहरुले मानविय भावनामा गहिरो छाप छाड्न त ? यो प्रश्न सदा सिनेमाका लागि सदा अप्ठेरो सावित हुदैँ आएको छ । यहि प्रश्नको जवाफ स्वरुप सिनेमा कलाको मार्गमा आएको हो भन्न सकिन्छ । सिनेमा मनोरञ्जनका लागि विकसित भएको भए पनि यसले मनोरञ्जन भन्दा पर कतै केही काव्यीक अभिव्यक्ती प्रस्तुत गरेकै हुनु पर्छ । काव्यीक अभिव्यक्ती विहिन सिनेमाहरुले जीवन समेट्न सक्दैनन, जीवन विहीन मृत चित्रहरुले मानविय संवेगहरुलाई समेट्न सक्दैनन् । मानविय संवेदना, भावना र अमूर्तताको सुन्दर चित्रण हुने हुनाले नै कला विश्वव्यापी रुपमा ग्राह्य छ । नभए, रसियन सिनेमा निर्माता आन्द्रेय तार्कोभ्स्की, हलिउड सिनेमा निर्माता क्रिस्टोफर नोलन, जापनीज सिनेमा निर्माता अकुरा कुरोसावा, थाई सिनेमा निर्माता अपिचात्पोगं विरासे थ्कुलका सिनेमा किन विश्वभरका मान्छेले हेर्थे ? एउटा भाषामा बनाइएको सिनेमाले संसारका अर्कै भागमा बस्ने मान्छेलाई पनि उत्तिकै आर्कषक र प्रिय लाग्नुको रहस्य पनि कलाको अन्तर हृदमा पुग्न सक्ने गहिराई नै हो । भाषाको दायरामा सिमीत नहुनु नै सिनेमाको उत्कृष्ट पक्ष पनि हो । नेपाली सिनेमाको ६ दशकको यो इतिहासमा त्यस्ता कतिवटा सिनेमा निर्माण भए जसले भाषाको संकुचनबाट आफुलाई मुक्त बनाए ? सिनेमा भाषबाट मुक्त भएको कलाको स्वरुप हो, सिनेमामा पात्रले बोल्ने संवाद भन्दा पनि दृश्यले व्यक्त गर्ने अभिव्यतmीले धेरै कुरा बयान गर्छ । चित्रले आवाजसँग बिहे गरेसँगै दृश्य भाषाको ओज र लय घट्दै गयो, बजारले च्याप्दै लग्यो । अनि सिनेमालाई संवाद र भाषको गरुगाें भारि बोकाइयो । यसकारण पनि सिनेमाको कलात्मकताको लागि दृश्य सबैभन्दा ठूलो कुरा हो । मानविय अस्तित्वका अपरिमित पहेलिहरुमा जीवनका अमुर्त दुश्यहरुको खोज गर्ने र प्रस्तुत गर्ने बेहतरिन कलात्मक स्वरुप हो सिनेमा । यु टुयुब जस्ता प्रविधीको विकास र प्रयोगले सिनेमाका दर्शकको संख्या बढेको छ भने सिनेमाको फैलावट पनि भएको छ । प्रत्येक कलाका स्वरुपका आ—आफ्नै प्रकारका प्रेमीहरु हुन्छन नै सिनेमाले पनि आफ्ना प्रेमीहरु संसारभर पैदा गरेको छ । (सिनेफिलियाःसिनेमाले उत्पन्न गर्ने एक विशेष प्रकारको प्रेमभाव, लगाव) यसको ज्वलन्त उदाहरणको रुपमा प्रदिप गिरीले संसद भवनको सम्बोधनमा सांसद तथा देशका प्रधानमन्त्रीलाई सिनेमा हेर्न आग्रह गर्नुलाई लिन सकिन्छ ।
पूर्ण आधुनिक, स्पस्ट रूपमा पकड हुन सक्ने, काव्यिक अनि अद्भुत उत्तेजक भैकन पनि नैतिक हुनु नै सिनेफिलहरुका लागि सबैभन्दा ठूलो कुरा हो । जीवनका अतृत्पताहरुको खोजी हो सिनेमा, उतकण्ठाहरुको अभिव्यक्ती हो सिनेमा, सिनेमा कलाको किताब हो, अनि जीवनको चित्रण हो । यथार्थको चित्रण, स्वैर कल्पनाको जादु, हिरोहरुको हिराइज्म जस्ता धेरै धारहरुमा सिनेमा बगिरह्यो । अन्तत सिनेमा विशाल अनुभूतिको एउटा सानो पाटो हो, जहाँबाट जीवनका भोगाइहरुको गहिराई महसुस गरिन्छ । सिनेमाको पर्दामा आफुलाई समर्पण गर्दै निरन्तर बग्न दिनु नै सिनेमाले पैदा गरेको लोभ लाग्दो मायावी यथार्थ हो । विश्व बजारीकरणको दौडमा सिनेमा पनि लम्किनै पर्ने बाध्यता सिर्जना भयो । बजार र बजारीया बस्तुहरु जस्तै सिनेमा पनि बक्स अफिसको टेबलबाट निर्देशित हुन पुग्दा सिनेमाको अभिव्यक्तिमा बजारको गन्ध आउन थाल्यो । बजारका लागि र बिक्रीका लागि बनाइएका सिनेमाहरुले सिनेमाको विशुद्धतामा मिसावट गरेकै हुन् । नेपाली सिनेमा नेपाली सिनेमामा डिजीटल अभ्यासको सुरुवात संगै, पुराना र स्थापित भनिएका निर्देशक तथा कलाकारहरुको वर्चश्व पनि कम हुँदै गयो । एकातिर विश्वव्यापीकरण र प्रविधीको प्रयोगले नेपाली दर्शकको पनि स्वाद र छनौटमा परिवर्तन आउनु र सिनेमा जगतमा नयाँ कलाकार, नयाँ निर्देशकले बनाएका सिनेमाको प्रवेशले नेपाली सिनेमाको नौलो युगको सुरुवात गरेका छन् भन्न सकिने आधारहरु पनि छन् । तर पछिल्लो केही बर्षमा बनेका नेपाली सिनेमाले कति कालत्मकता बोक्न सके त ?
१० बर्षको युद्ध र त्यस पछिको राजनीतिक विकास क्रमको पर्दापण नेपाली सिनेमाले कति गर्न सफल भयो ? अथवा बलिउड या यस्तै अरु कसैको लहलहैमा लागेर हामी आफ्नो मौलिकता र कलात्मकताको बलिदानी त दिइरहेका छैनौ ? व्यवसायीकताको दुहाई दिदै कलालाई पाखा लगाउनु नेपाली सिनेमाको बाध्याता बन्नु दुःखदायी मात्रै नभई अपाच्य बन्न पो जान्छ की ? यही नेपाली बजारमा बलिउड सिनेमाले अर्बौ रकम आर्जन गर्न सक्छ तर त्यही बजारमा नेपाली निर्माता भने ऋणको भारी बोक्छन् ः आखिर किन यस्तो हुन्छ त यो हाम्रा निर्माता र निर्देशकले एकपटक गहिरीयर सोच्नै पर्छ, । कपि पेष्ट गर्नु र प्रभावित हुनु दुई फरक कुरा हुन् । निश्चय नै, आर्थिक लगानी गरेपछि प्रतिफलको आशा गर्नु पर्छ तर व्यवसायीकताको नाममा कलाको हत्या गरिनु भने कुनै हालतमा सह्य हुदैन दर्शकका लागि । दर्शकका लागि मुख्य कुरा व्यापार होइन, सिनेमा, यसको प्रस्तुति र कलात्मकता हो । सिनेमालो हुदय र मस्तिष्कको कुन तहमा प्रहार गर्छ भन्ने हो, संवेदनाको कति गहिराईमा पुग्न सक्छ भन्ने हो । व्यवसायीकताको भारी बोकेर बनाइएका सिनेमाहरुले तत्कालीक भोक त मेट्लान तर त्यही व्यसायीकताले सिनेमा उद्योगलाई नै कमजोर बनाउन सक्छ भन्ने तर्फ पनि ध्यान दिनु पर्छ नै । निकै गम्भिर सामाजीक विषयहरुलाई उखान र जोकको भरमा सिनेमामा प्रयोग गर्नु, सिनेमा र समाजकै उपहास गर्नु हो । पात्रको मुखबाट संवाद ओकल्न लगाउने परम्परामा आधारीत नेपाली सिनेमा जगतले बुझ्नै पर्छ सिनेमाले पात्रको भाषा भन्दा धेर दृश्यको भाषामा व्यक्त गर्नु पर्छ भनेर । सिनेमा प्रस्तुत गरिने कथा काल्पनीक हुन या वास्तविक तिनको अभिव्यक्तिको पहिलो असर समाजले भोग्नु पर्छ । तसर्थ सिनेमा कला,व्यवसायीकता मात्रै पनि होइन्, समाजिक उक्तरदायित्व पनि हुन जान्छ ।
भारतमा सन् १९९१ पछिको आर्थिक उदारीकरणले भारतिय सिनेमा जगतमा ठूलो बद्लाव ल्यायको पाईन्छ, जसको प्रत्यक्ष असर नेपाल र नेपाली सिनेमा क्षेत्रले पनि व्याहोर्नु परेको छ । समयको बद्लाव संगै सिनेमाले हाम्रा जस्ता पूर्विय मुलुकमा प्रचलित धेरै सामाजिक मान्यताहरु माथि पनि प्रहार गरेकै छ । संमलैगिंकता, र क्षेत्रियता वा आंञ्चलिकताको सिनेम्याटिक वकालतकोे सुरुवात पनि नेपाली सिनेमाले गर्न थालेका छन् । नेपाली सिनेमा जगत परिवर्तनको पक्षमा रहँदा रहँदै पनि महिला कलाकारलाई वस्तुकरण गर्र्दै पुरुष प्रधानताको प्रत्यक्ष वा अप्रत्यक्ष वकालत गर्न पनि छाडेको छैन् । सिनेमाको उत्तरदायित्व हुन जान्छ, समाजलाई स्वस्थ्य मानसिकता प्रदान गर्नु, समयक्रम संगै समाजका आन्तरिकता र सम्बन्धहरु पनि परिवर्तित हुदा छन् सिनेमाले तिनको जोडलाई अझै मजबुत पार्दै त्यसलाई सौहार्दता र कलाको लेपनले रंगिन बनाउन सक्नुपर्छ । आधुनिकतावादीहरुले भन्दै आएका छन् सिनेमाले बद्लिदो समाजलाई चित्रण गरेको छ, तर यो पनि सत्य हो सिनेमाले कतिपय अवस्थामा समाज र यसका भावनाहरु समेत बदलेको छ । सिनेमा आफै एक्लै मात्रै परिवर्तन र बदलावको पक्षमा जान सक्दैन, त्यसको लागि त्यहाँको समाज र त्यसको रुचि, अपेक्षा र परिवर्तन संगको उसको लगावले पनि विशिष्ठ योगदान रहन्छ । सिनेमा दुश्यमा प्रस्तुत गरिएको कला अनि समाजीक इतिहास हो । सिनेमाले समाज र यसका निर्देशनहरुको कलात्मक पथ पर्दशक पनि हो । सर्वमान्य र सर्वग्राह्य अभिव्यक्ति हुने भएकाले नै सिनेमा दस्तावेज पनि हो ।
१० बर्षे युद्ध र त्यसपछिको नेपाली समाजलाई औँलामा गन्न सकिने सिनेमाले प्रस्तुत गर्ने प्रयास गरेका छन् तर के ति सबै पर्याप्त छन् त हाम्रो समाज र त्यसको गहिराई नाप्न् ? रुपान्तरणको क्लाइमेक्सको समना गरिरहेको समाजलाई कलात्मक अभिव्यक्ति प्रदान गर्दै सम्मोहीत गर्नमा नेपाली सिनेमा जगतले कतै न कतै त कञ्जुस्याई गर्दै छ । गहन समाजीक तथा मनोवैज्ञानीक प्रभावहरुमाथि आधारित रहेर बनेका सिनेमाहरु पनि कलात्मक दृष्टिमा कमजोर ठहरीएका छन् । कमजोर दृश्यहरुको प्रयोग, दृश्यहरुमाथि पात्र र संवादको भारी बोकाउने परम्परा र बजेटको अभाव भन्दै निर्माण गरिने सिनेमाले कतै समाजलाई अपव्याख्या त गरिरहेका छैनन् ? व्यवसायीकता र कलात्मताको बेजोड संगम नै सिनेमालाई समय सापेक्ष बनाउने एक माध्यम हुन सक्छ, कमसेकम हाम्रा लागि । समाज र यसको गहिराईबाट खोजिएका सिनेमाहरुको खाँचो नेपाली दर्शकले महसुस गर्ने गरेका छन् । सामाजीकताहरुको स्थायित्वको लागि कलात्मक प्रयोग गर्न नेपाली सिनेमा कतै चुकेको त होइन ? दृश्यहरुको संयोजनबाट निर्मीत सिनेमा समाजीक, कलात्मक दस्तावेज बन्न पछि पर्नु हुँदैन ।