बर्षा बस्नेत, काठमाडाैँ ।पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने कलाकारले राम्रो सम्भावना देखाएका छन् । रंगमञ्च होस् चलचित्र क्षेत्र, दुवैमा मधेसका कलाकार सशक्त देखिएका छन् । यसै पंक्तिमा पर्छन् प्रमोद अग्रहरि ।
‘कलाकारको कुनै जात, धर्म, वर्ण केही हुँदैन । कलाकारले अरुको जीवन बाँच्छ,’ कलाकारिताबारे प्रमोद अग्रहरिको दृष्टिकोण हो यो । उनी आफूलाई ‘अभिनयले बाँच्न सिकाएको ठान्छन् । ‘मलाई धोती भन इन्डियन भन या मेरो अनुहार नेपाली होइन भन । जे भने पनि म एउटा कलाकार हो र सधै एउटा कलाकार भएर नै बाच्न पाउँ,’ अलि पीडा र गुनासो मिश्रित रूपमा उनी भन्छन् ।


करिब चार वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा आफ्नो पहिचान बनाउन उनी संघर्ष गर्दैछन् । नेपाली सिनेमामा उनले ‘उमा’ बाट डेब्यु गरेका हुन् । उमामा काम गर्दागर्दै उनले  ‘सुन्तली’ मा काम पाए । साथीहरूको लहलहैमा आफ्नो कलाकारिता यात्रा सुरु गरेका प्रमोद भन्छन्, ‘कलाकारितालाई करियर बनाउँछु भनेर आएको थिइनँ । सानैदेखि डान्स गर्न मन लाग्थ्यो । यसैक्रममा गाउँमै एकजना दाइको म्युजिक भिडियोमा काम गरें । साथीभाइबाट प्रशंसा पाए । गर्न सक्छु कि जस्तो लाग्यो । तर पढाइको साथमा मार्सलआर्ट पनि खेल्थें । पछि चिनेको एकजना दाइले चलचित्र ‘तिम्रो माया’ को लागि भन्नुभयो । एक महिना तालिम गरें ।’


उनी आफ्नो सुरुवाती दिन सम्झिँदै थप्छन्, ‘पछि पढाइलाई पूरा गर्न काठमाडौँ आए । पढाइकै सिलसिलामा दिल्ली गएँ । त्यहाँ सुमन्त अग्रवाल दाइले ‘तृप्ति’ भन्ने चलचित्रमा छोटो भूमिका छ गर्छौ ? भनेर सोध्नु भयो । त्यसमा काम गरें । उहाँहरूले अभिनयलाई बुझेर, सिकेर गर्यो भने राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो । त्यसपछि नेसनल स्कुल अफ ड्रामामा पढें र त्यहाँकै केही नाटक पनि गर्ने मौका पाए ।’ 


कलाकारितामा झुक्किएर लागेको बताउने प्रमोद आफूले करिब पाँच वर्ष दिल्लीमा बसेर अभिनय सिकेको बताउँछन् । तराईको नवलपरासी जिल्लामा जन्मेका प्रमोद चलचित्रमा काम गर्नुअघि कराँते खेलाडी पनि हुन् । उनले राष्ट्रिय स्तरका केही खेल पनि खेलिसकेका छन् । 
प्रमोद सन् २०१२ मा चलचित्र ‘उमा’ को अडिसन दिन नेपाल आएका थिए । ‘दिल्लीमा बस्ने क्रममा चलचित्र उमाको कु्रा भएको थियो । उक्त चलचित्रका लागि नेपाल आएँ । अडिसन दिएँ, तर हुन्छु जस्तो लागेन अनि फेरि दिल्ली नै फर्किएँ । तर यदि त्यो पात्र मैले पाएँ भने सोचेर आफ्नो तौल घटाउन थालें । १९ दिनमा १२ किलो घटाएपछि अडिसन दिएको १९ दिनमा उमाका लागि छानिएको कल आयो,’ आफ्ना सुरुवाती दिन सम्झँदै उनी भन्छन् ।


उनलाई लाग्छ, १९ नम्बर नै उनको लक्की नम्बर हो । चलचित्र उमामा माओवादीको कमान्डरको भूमिकामा प्रमोद देखिएका छन् । उमामा प्रमोद अभिनेत्री ऋचा शर्माको अपोजिट देखिएका थिए । चलचित्रले राम्रो व्यापार गर्न नसके पनि समीक्षा पनि राम्रो पाएको थियो । 
उमाको सुटिङ भएको १५ दिनपछि उनी चलचित्र सुन्तलीमा छानिए । सिनेमा क्षेत्रमा चार वर्ष बिताएका प्रमोदले ‘उमा’, ‘सुन्तली’, ‘चंखे शंखे पंखे’, ‘फागु’, ‘छक्का पञ्जा’, ‘सेतो सूर्य’, ‘ग्याङस्टार ब्लुज’, ‘संरक्षण’, ‘कथा काठमाडौँ’ मा आफ्नो खुबी देखाइसकेका छन् । त्यसमध्ये केही चलचित्र प्रदर्शन भइसकेका छन् भने केही प्रदर्शनको तयारीमा छन् । यस्तै टेलिसिरियल ‘सिंहदरबार’मा उनी राजकुमारको भूमिकामा देखिएका छन् । 


एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका प्रमोद प्रायः स–सानो भूमिकामा देखिन्छन् । भन्छन्, ‘हरेक कलाकारको चाह हुन्छ लिड रोल गर्ने । तर मैले गरेको काम मलाई लाग्दैन त्यो लिड होइन भनेर । सानो हो या ठूलो मान्छेको सोच हो । उसले त्यो पात्रलाई कसरी हेरेको छ ? मैले गरेको काम र मैले निभाएको पात्र लिड नै गरेको जस्तो लाग्छ ।’
उनी आफूलाई सोलो हिरो बनेर चलचित्र खेल्न मन लागेको बताउँछन् । ‘मलाई नि दाह्री जँुगा पालेर रोमान्टिक हिरो बनेर खेल्ने इच्छा छ । कुनै दिन आउला नि त्यो रहर अवश्य पूरा हुने छ,’ प्रमोदले आफ्नो इच्छा भविष्यलाई छाड्दै कुरा अघि बढाए ।


पछिल्लो समय मधेसको प्रतिनिधित्व गर्दै थुप्रै कलाकार भित्रिएका छन् । केही चलचित्रमा मधेसी संवाद, हाउभाउलाई चलचित्र हँसाउन प्रयोग गरिरेहेको हुन्छ । तपाईलाई यस्तो कुराहरू चलचित्रमा देख्दा कस्तो लाग्छ ? उनी भन्छन्, ‘तराईमा जन्में, उतै हुर्किएँ । पहिलाको नेपाली चलचित्रहरू त्यति हेर्न पाइनँ । किनभने तराईमा अझै पनि नेपाली चलचित्रभन्दा भोजपुरी र हिन्दी चलचित्र बढी चल्छन् । त्यो बेला मधेसी पात्रले हेप्ने गरिन्थ्यो । मधेसी भन्ना साथ जुत्ता पुछ्ने, चटपटे बेच्ने, बोल्ने तरिका पनि चटपटे ढंगले प्रयोग गर्ने गरिन्थ्यो । तर अहिले मधेसी कलाकारका लागि केही माथिको स्थान पाएको जस्तो लाग्छ,’ उनी भन्छन् ।
‘सायद उमा पहिलो चलचित्र हुनु पर्छ, जसमा मधेसी पात्रलाई लिड रोलमा राखिएको छ । ‘सुन्तली’ मा पनि बोर्डरपारिको भए पनि लिड जस्तै पात्र छ । पछिल्लो समय कलाकार कामेश्वर चौरासिया र नाजिर हुसेन जस्ता मधेसलाई प्रतिनिधि गर्ने कलाकार पनि राम्रो भूमिकामा काम गर्ने पाएका छन्,’ प्रमोदले भने ।
चलचित्र रेशम फिलिलिबाट कामेश्वर उदाएका थिए भने होस्टेल रिटन्स्बाट सोझो भूमिकामा देखिएका नाजिर हुसेनलाई दर्शकले रुचाएका थिए । अभिनयमा राम्रो भए पनि मधेसी भएका कारण नै प्रमोदलाई कहीँ न कहीँ पछि परे जस्तो लाग्छ । ‘जब कलाकार छनोट गरिन्छ, यो तराईको हो, यो पहाडको हो । यसले तराईको भूमिका राम्रो गर्न सक्छ भनेर छुट्याउनु हुन्छ अनि दुःख लाग्छ,’ प्रमोद भन्छन् । कलाकारितालाई जातित्व र धर्मको हिसाबले दाँज्नु गलत रहेको उनको बुझाई छ । ‘कलाकार भनेको काँचो माटो हो । त्यसलाई के बनाउने मुभी मेकरको हातमा हुन्छ । त्यो माटोलाई गिलाँस बनाउने हो कि, चम्मा, थाल जे बनाउन पनि मिल्छ । तर कलाकारलाई जातभात, धर्म आदि इत्यादीबाट तुलना गरिनु हुन्न,’ उनको सल्लाह छ ।
मधेसी कलाकार भएकै कारण हेपाई खानु पर्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हेपाइको आफ्नो आफ्नो किसिम हुन्छ । यहाँ प्रत्यक्षभन्दा पनि मानसिक रूपमा हेपाई खान बाध्य हुनुपरेको छ । कसैले मेरो अनुहार नेपाली नै होइन भन्छन् । मलाई थाहा छै, नेपाली अनुहार कस्तो हुन्छ भनेर । त्यो मानसिकता बोकेर म हिँड्दिनँ । हामी सबै एक हौं, मान्छे भएर बाँच्ने हो । मेरो अनुहार नेपाली होइन, धोती हो, इन्डियन हो भन्छन् । दुःख त लाग्छ, तर त्यस्तो कुराले मलाई फरक पार्दैन । म कलाकार हो,’ उनले भने ।


मधेसी भएका कारण चलचित्रमा काम गरिसकेपछि पारिश्रमिक दिन कन्जुस गर्ने प्रमोद बताउँछन् । ‘सुरुमा आफ्नै चलचित्र भनेर फकाउँछन् । काम गर्यो, तर पछि पैसा दिन गाह्रो मान्छन् । मेरो पारिवारिक वातावरण, घरव्यवहार लगायतका कुराले गर्दा पैसा मलाई अभिनय गरेर कमाउ भन्ने छैन । पात्र राम्रो लागेर काम गर्न मन लाग्छ । तर काम गरेपछि मेकरले वास्ता नै गर्दैनन्,’ उनले सुनाए ।
कुनै ठमेलको क्याफेमा बसेर कथा लेख्दैमा तराईको माटोलाई बुझ्न नसकिने उनी बताउँछन् । ‘त्यसका लागि त्यहाँको माटो बुझ्न जरुरी छ । अझै रिसर्च गर्न जरुरी छ । त्यसपछि मात्र मधेसी कलाकारले राम्रो काम गर्न पाउँछन्,’ उनले कुरा टुंगाए ।