–महेश काफ्ले
सर्वे इन्जिनियर पढ्न घर (सिन्धुली) बाट काठमाडौँ आएको भाइ मनोज शनिवार इन्ट्रान्स परीक्षा सकेर आइतबार फुर्सदमा बसी रहेको थियो । आइतबार मेरोपनी हप्ता बिदा पर्ने भएकाले अफिस जान नपरेपछी फुर्सदमै बसी रहेको थिँए । फुर्सदको समय सदुपयोग गर्न दाजु भाइको कतै घुम्न जाने सल्लाहा भयो । साउनको टण्टलापुर घाममा मध्य दिनमा बाहिर हिन्न हामी दुवैलाई आट नआएसँगै चलचित्र हेर्न जाने योजना बुन्याौँ । चललिचत्र त हेर्ने तर कुन ? “धनपती” हामी दुवैको साझा रोजाइ बन्यो । प्रदर्शन भएको दुई साता भन्दा बढी समय भई सकेका कारण “बिग मुभिज” “एफक्युब” लगायतका मल्टिप्लेक्सबाट “धनपती” उत्रि सकेको रहेछ । केही समय साथमा रहेको स्मार्ट फोनमा घोतल्लिएपछी गोपीकृष्ण हलमा धनपती प्रदर्शन भई रहेको पत्ता लाग्यो । यसैबिचमा दाइ दिनेशपनी कलेजबाट घर आइ पुग्यो र उसलाइपनी हामीसँगै चलचित्र हेर्न जान अनुरोध ग¥याँै । चलचित्र हेर्न अत्यन्तै रुचाउने दाइले हाम्रो प्रस्तावमा नाक खुम्चायो, कारण थियो गोपीकृष्ण हल । बाल्यकालमा हरेक हप्ता लाग्ने नयाँ नयाँ चलचित्र हेर्न गएर गोपीकृष्ण हलको चप्पा चप्पा चाहारेको दाइले पिक्चर र साउण्ड क्वालिटी गुणस्तरिय नहुने, हल भित्र राम्रो वातावरण नहुने जस्ता कारणले आफू नजाने स्पष्ट पा¥यो । हामीले अन्य मल्टिप्लेक्सबाट धनपती उत्रि सकेको, चलचित्रले दर्शकबाट तारिफ पाएको र अहिले छुटे पछि युट्युबमापनी हेर्न नपाइने भन्दै दाइलाई मनायाँै । 
अन्य मल्टिप्लेक्समा एउटा टिकट किन्न पुग्ने पैसाले तिनवटा टिकट आउँदा मख्ख परेका हामी गोपीकृष्णको शिवाय नामक हल भित्र छिरेसँगै निराश बन्यौँ । ठुस्स गनाइ रहेको हलभित्र चुइगम टासिएको मैलो सिटमा बस्दै गर्दा मैले एउटा नेपाली उखान सम्झिए “सस्तो बेसारले पखला लाग्छ ।” धमिलो पर्दामै हेरेपनी “धनपती” हामी तिनै दाजु भाइलाई राम्रो लाग्यो । तर हल भित्रको वातावरणले झन्डै २ घण्टा काट्न मुस्किल परेको थियो । धनपती हेरेर बाहिर निस्कदै गर्दा मैले अर्को पनि चलचित्र हेर्ने प्रस्ताव गरेँ । भाइ मनोजले तुरुन्त मेरो प्रस्तावमा सहमति जनायो तर दाइ दिनेश प्रस्तावको विपक्षमा उभियो । दाइले बल्ल तल्ल गुम्सिएको गन्हाउने ठाउँमा आफूले दुई घण्टा काटेको र फेरी अर्को दुई–तिन घण्टा त्यसरी बिताउन नसक्ने बताँउदै गर्दा पानी पर्न सुरु ग¥यो । मैले तातो चिया पिएपछी फ्रेस हुइन्छ भन्दै दाइलाई मनाउने प्रयास गरँे । तातो चियाले हो या बाहिर पानी परि रहेकाले हो दाइ अर्को चलचित्र हेर्न तयार भयो । 

 भाइ र मैले “म यस्तो गीत गाउछु” हेर्ने भन्यौँ दाइले मुन्ना माइकल, प्रजातान्त्रिक देशमा बहुमतको जित भयो “म यस्तो गीत गाउछु” को टिकट काटियो । एक छिन अघि हेरेको र मस्तिष्कमा गहिरो प्रभाव पारेको “धनपती” को ह्याङ बोक्दै हामी “म यस्तो गीत गाउछु” चल्ने कृष्ण हलभित्र छि¥यौ । यो हल “धनपती” हेरेको हल भन्दा केही राम्रो थियो तर साउण्ड क्वालिटी पहिलेको जत्तिको थिएन । हेर्न असहज लाग्ने नाटकिय दृश्यसँगै चलचित्र सुरु भयो । मध्यान्तरमा दाइ म तिर हेरेर मुस्कुरायो । दाइको मुस्कानले उसलाई त्यतिन्जेल चलचित्र मन नपरेको स्पष्ट पाथ्र्यो । असहज दृश्य, अस्वभाबिक संवाद र अपत्यारिलो किसिमले अघि बढी रहेको चलचित्र मलाइपनी मन परेको थिएन । तर आफुलेनैे कर गरी गरी हेराएको चलचित्र भएकाले बोल्ने ठाउँ थिएन, विषयलाई अन्तै मोड्ने प्रयास गर्दै मैले दाइलाई भनँे “यस्तो साउण्ड र पिक्चर क्वालिटीले त राम्रो बनेको चलचित्रलाइपनी २५ प्रतिशत कमजोर बनाउँछ, आम नेपाली दर्शकले चलचित्र हेर्ने हलहरुकै यस्तो अवस्था भएपछि नेपाली चलचित्र कहिले उँभो लाग्ने ? हलभित्रको बाताबारणलेपनी चलचित्र हेरी रहेको दर्शकलाई थोर बहुत प्रभाव त पार्छ नि हैन ? । ” 
       दोस्रो हाफमा चलचित्र कुनै बेला ट्रयाकमा फर्किन खोज्छ तर फेरी भड्किन्छ । उत्पन्न परिस्थिति, संवाद र घटनाक्रम वास्तविक लाग्दैनन् । सुरुवातमा “मेरो एउटा साथी छ” जस्तो चलचित्र बनाएका निर्देशक सुदर्शन थापा निर्देशकका रूपमा झन् झन् अब्बल हुँदै जानु पर्नेमा झन् झन् कमजोर हुँदै गएका छन् । एउटा परिपक्क निर्देशकले चलचित्र लेखिनु भन्दा अगाडी नायक नायिका छनोट गर्दैन । कथा अनुसार चरित्रमा सुहाउने कलाकार छनोट गरिन्छ । तर सुदर्शनको चलचित्र लेखिनु अगाडीनै नायिका निश्चित भई सकेकी हुन्छिन् । उनलाई यी र यस्तै कमजोरीहरुले कमजोर बनाएको हुन सक्छ । सुदर्शन पूर्ण रूपमा परिपक्क र व्यावसायिक निर्देशक बन्ने हो भने यी र यस्ता व्यक्तिगत कमजोरीलाई हटाउन सक्नु पर्छ । 
      नयिका पूजा शर्माले यसअघीका चलचित्रमा भन्दा अभिनयमा केही सुधार गरेकी छिन् तर पल शाहले सहज अभिनय गर्न सकेका छैनन् । चलचित्रको नायक सङ्गीत हो । सङ्गीतकार अर्जुन पोखरेलले निकै उत्कृष्ट काम गरेका छन् । यदि निर्माण पक्षले दाबी गरे अनुसारनै चलचित्र हिट भएकै हो भने संगितकारलाइ विशेष बोनस दिए फरक पर्दैन । चलचित्रको सबै भन्दा बलियो पक्षनै सङ्गीत हो । चलचित्रको सङ्गीतले नै धेरै दर्शकलाई हलसम्म तानेको छ । चलचित्रको छायाङ्कन पाटो पनि प्रशंसनिय छ । वरिष्ठ अभिनेता राजाराम पौडेलले पुनः एक पटक उत्कृष्ट काम गरेका छन् । उनी पर्दामा रहुन्जेल दर्शकलाई आँखा झिम्काउन मन लाग्दैन । ड्रेस डिजाइनरले नायक नायिकाकोलागी राम्रो ड्रेस डिजाइन गरेका छन् । पल र पूजा पर्दामा सुन्दर देखिएका छन् । यी केही राम्रा पक्षहरू बाहेक चलचित्र “म यस्तो गीत गाउछु” समग्रमा निकै कमजोर चलचित्र बनेको छ । हुन त धेरै दर्शकले चलचित्रलाई रुचाइ दिएका छन्, चलचित्र सफल बनेको छ । तर एउटा यथार्थ के हो भने सिङ्गल थिएटर र मल्टिप्लेक्समा चलचित्र हेर्ने दर्शकबिच चलचित्र प्रतिको बुझाइ, हेर्ने दृष्टिकोण र स्तरमा निकै भिन्नता छ । म यस्तो गीत गाउछुलाइ सिंगल थिएटरमा आउने सर्वहारा वर्गका दर्शकले रुचाएका हुन् । तर दर्शकले मन पराए भन्दैमा नेपाली चलचित्र क्षेत्रका जिम्मेवार निर्माता निर्देशकले कमजोर चलचित्र बनाउनु हुँदैन । “बाहुनले च्याउ खाओस न च्याउको स्वाद थाहा पाओस” भने झैँ गतिलो चलचित्रको स्वादनै नथापाएका सिंगल थिएटर धाउने सर्वहारा वर्गका दर्शक कमजोरीले भरिपूर्ण चलचित्रलाई पनि सिठ्ठी मारेर साथ दिई रहेका हुन्छन् । राम्रो चलचित्र बनाएर तथा हेराएर त्यस्ता दर्शकहरुको स्तरोन्ती गर्न सकेमात्र नेपाली चलचित्र उँभो लाग्न सक्छ ।