(एकदिन यो सास फेरिरहेको वस्तीबाट हामी
धुवाको मुस्लो भएर कतै बिलिन हुनेछौँ )
म तिम्रा फलामहरुको आरनमा
आगो ठोक्किदै गरेको हतियार हुँ ।
तिम्रो हड्डिको रुखमा...
जराहरुबाट उभो चढ्ने पानी जस्तै
म तिम्रो खुनको तापक्रम हुँ,
तिम्रो हृदय हुँदै मस्तिष्कको फूलसम्म झाँगिनुछ
बा!म सत्य हुँ र पनि केही केही भ्रम हुँ।
तिम्रो आँखाको चिहानघाटमा बसेको ओस..
म ती आँखाहरुको चित्रमय कंकाल हुँ
बग्दै जानुछ..बगाँउदै लानुछ
म हजार बा’हरुको समय हुँ...काल हुँ।
बाटो मेरो आफ्नै थियो...तिम्रो आफ्नै थियो
र पनि,
बा! म तिम्रो त्यही अर्को अनुहार हुँ।
(फेरि हामी अनेक बा’हरुको समुन्द्रबाट
एउटा अर्को नाम लिएर जन्मने छौं...र त्यो नाम हामिलाई था’ छैन)