हालै रिलिज भएको गीत 'पिर' का सर्जक तथा गायक प्रकाश सपुतले गीत विवादमा तानिएपछि आफ्नो अभिव्यक्ति दिएका छन् l सामाजिक सञ्जाल मार्फत उनले आफ्नो गीतबारे प्रष्टीकरण दिएका हुन् l सञ्जालमा सपुत लेख्छन् :


 

Cine pati

नमस्कार !

'पिर' प्रतिको शुभेच्छाका लागि तपाईँहरू सबैलाई धेरै-धेरै धन्यवाद !  सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैँ कसैको मन नबिझाई सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत 'पिर'का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महसुस गरेको छ। गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ। मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यति बेला आफ्नै सिर्जना तपाईँहरूका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ?  तपाईँहरू (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दै छु।  'पिर'बाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको  हौँ। समानताको लागि एकसाथ लडेका कमरेडहरू बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौँ।  एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको हौँ! मलाई लागेको - यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिँदै /  पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र? स्विकारिएको विषय होइन र?जसरी यसअघिका  गीतहरू 'बोल माया',  'दोहोरी ब्याटल', 'गलबन्दी', 'बदला बरिलै', 'फुटेका चुरा' , 'मेरो पनि हैन र यो देश' , 'कुरा बुझ्न पर्छ ' गीतहरूमा कथा बुन्थेँ, पात्र बनाउँथेँ , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड / छायाङ्कन गर्थेँ । यसमा पनि त्यही प्रक्रिया छ । गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब  ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरू पूर्व लडाकु थिए। उनीहरू चरम निराशा बादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु। प्रतीकात्मक रुपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो 'पिर'। यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ। केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरेँ। केही पात्रहरू पढेँ । आम मानिसका भोगाई र संवेदनाहरू बुने  र  भिडियो बनाएँ। मेरो पेसा र पहिचान यही हो।एउटै  गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन। पुरै बुझाइ आउँदैन। त्यसैले  अर्को गीतमा अर्को कथा भन्नु त छँदै छ, त्यसमा अर्कै दृष्टिकोण समेटौला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृश्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृश्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म  फेरि आत्मालोचना गर्छु ।  यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु।  माफी मागेको छु । अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाउँ । त्यसो हो भने मुना / मदन छन् कि छैनन्?  सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगवीर र सकम्बरी कहाँ होलान् ?  कहाँ होला घुम्ने मेच माथि बसेको  अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एक पटक अ़क्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन। बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा  मैले  यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो। अब भिडियो नै हटाउँदा पो युद्ध / आन्दोलन / गणतन्त्र / स्वतन्त्रताको अपमान हुने हो कि?  म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ  । म सर्जक हुँ,   सिर्जना  नै मेरो बिचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/ सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौँ  तर यसलाई राजनीतिकरण नगर्न सबैसँग  अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु !  मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष /विपक्षमा एकोहोरो भइन्छ !  नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ। गीत र भिडियोको  भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौँ, समीक्षा गरौँ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एक पटक इमानदार भएर विचार गरौँ। समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ !  त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो।  भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सम्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ,  त्यस प्रति म फेरी पनि क्षमा चाहन्छु ! यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुबिधामा नपारौँ ! न अल्झाउँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौँ कथा छन् ! गाउनुपर्ने कयौँ, गीत छन् ! तपाईँले नै  लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौँ प्रश्नहरू छन्। प्रश्नहरूलाई निरुत्साहित नगरिइदिनुहोस्।

प्रकाश सपुत, सर्जक

२०७८ फागुन ३०