सिनेपाटी ब्युरो विशेष रिपोर्ट : काभ्रेपलान्चोक पाँचखाल स्थित नमस्ते सिनेमा हलमा दुई दशकअघि विद्यालयबाट भागेर सिनेमा हेर्न जाँदा अहिलेका सिनियर प्रोडक्सन म्यानेजर राम तिमिल्सिनालाई पछि गएर आफू यही क्षेत्रमा समर्पित हुन्छु भन्ने हेक्का समेत थिएन । गीतसङ्गीत तथा चलचित्रहरू मनपर्थे, घाँस दाउरा गर्न जाँदा गुनगुनाउँथे तर मनोरञ्जन क्षेत्रमा आफ्नो भविष्य सोचेका थिएनन् ।
विक्रम सम्बत २०४३ सालमा काभ्रे मण्डन देउपुरको मध्यम वर्गीय परिवारमा जन्मिएका रामले आफ्नो परिवारले गरिरहेको कृषि पेशा गरिदियोस् भन्ने उनको बुवाको चाहाना थियो । तर २०६० सालमा एसएलसी सकेपछि प्लस टु पढ्दै गर्दा उनलाई घरमा बस्न मन लागेन । धेरैजसो साथीभाइहरू काठमाडौँ आएर अध्ययन गरिरहेका थिए । उनले पनि घर छोड्ने मन बनाए तर परिवारले साथ नदिने देखेपछि भागेर काठमाडौँ जाने निर्णय गरे ।
सुख दुःख देखेर हुर्किएका राम परिवारप्रति सधैँ जिम्मेवार थिए । करेसाबारीमा उत्पादन गरेको काउली बेच्न बजार गएका उनले काउली बिक्रीबाट आएको ४१ सय २५ रुपैयाँ मध्य साथीमार्फत ४ हजार घर पठाइदिए र बाँकी १ सय २५रुपैयाँ लिएर काठमाडौँ हुइँकिए ।

सेना–माओवादी भिडन्तमा जोगिएको ज्यान....

 भागेर काठमाडौँ आएपछि राम आफ्ना मिल्ने साथीहरू गणेश र प्रमोद भट्टराईले भाडामा लिएको कोठामा बसे । साथीहरूले कुनै अप्ठेरो नमानी बस्न भनेका थिए तर उनलाई केही न केही गर्ने छट्पटि थियो , आफैँ कमाँउदै पढ्ने रहर थियो । एक दिन कोठामा यत्तिकै बसिरहेका बेला उनलाई नातेदार काकाको ट्रकमा धनकुटा हिले घुम्न जाने मौका मिल्यो । नेपालमा माओवादी युद्ध उत्कर्षमा पुगेको समय थियो । उनको काकाले नगरकोट ब्यारेकबाट आर्मीको टोलीलाई हिले ब्यारेक सम्म पु¥याउनु पर्ने थियो । ट्रकमा आर्मीको टोलीसँगै राम पनि मिसिए । साथमा आर्मीले नियन्त्रणमा लिएका
दुई जना माओवादी योद्धा पनि थिए । नयाँ ठाउँ घुम्न देख्न पाउने अवसर पाएकोमा दङ्ग अल्लारे रामको उत्साह धेरैबेर टिक्न पाएन । चितवन चुम्लिङ्टार पुगेपछि ट्रकमा माओवादी हमला भयो र दोहोरो भिडन्त सुरु भयो । पहिलो पटक घर छोडेर कतै टाढा निस्किएका रामले झलझली घर सम्झिए । आर्मीले उद्धार गरेर उनलाइ नजिकैको ब्यारेक सम्म पु¥यायो । बेलुकी देखी अनिश्चितकालिन नेपाल बन्द सुरु भयो, राम ब्यारेकमै थुनिए ।


फर्किएर फेरी आफ्नै गाउँ...


ब्यारेकमा थुनिएका राम जसोतसो काठमाडौँ फर्किए । साथीभाइहरूको सहयोगमा कहिले दोहोरी साँझमा किचेन स्टाफ त कहिले डेलिभरी ब्वाईको रूपमा काम गरे । आफ्नै कमाइले कलेज भर्नापनि भए तर उनले सोचेको जस्तो भएन । साथीहरूसँगै बिदेश जाने भनेर होटेल ट्रेनिङ् पनि लिए तर त्यो पनि सफल हुन सकेन र अन्ततः काठमाडौँको संघर्षलाई बिट मार्दै आफ्नै गाउँ फर्किएर बुवालाई कृषि पेशामा सघाउन थाले ।

चलचित्र क्षेत्रमा पाईला....

गाउँ फर्किएर रामले मन लगाएर खेती गरे । बुवा छोरा भएर एकै सिजनमा ४३ हजारको त गोलभेँडा मात्र बेचे तर उनको मन अझै थामिएको थिएन । नाताले भिनाजु राजन हुमागाईँ लाईटम्यानको रूपमा चलचित्रको शुटिङ युनिटमा काम गर्थे । उनकै सहयोगमा राम काठमाडौँ आएर मेकअप असिस्टेन्टको रूपमा काम गर्न थाले। मेकअप आर्टिस्ट शमशेर लामाको असिस्टेन्टको रूपमा उनले चलचित्र, म्युजिक भिडियो र बिज्ञापनहरुमा काम गरे । यसैक्रममा उनको संगत अहिलेका चर्चित छायांकार तथा निर्देशक हरि हुमागाईसँग भयो जो तत्कालीन समयमा लाइटम्यानको रूपमा काम गरिरहेका थिए । हरिले रामलाई लाइटम्यानको रूपमा काम गर्न सुझाए । मेकअप असिस्टेन्टको रूपमा भन्दा लाइटम्यानको रूपमा व्यस्त हुन थालेपछि राम त्यतै आकर्षित भए । बिस्तारै शुटिङ्को माहोल बुझिसकेका राम प्रोडक्सन म्यानेजर असिस्टेन्टका रूपमा सक्रिय हुन थाले ।

को हो प्रोडक्सन म्यानेजर ?

प्रोडक्सन असिस्टेन्टको रुपमा काम गर्दै जाँदा राम बरिष्ठ छायांकार धिरज जंग शाहसँग नजिक भए जसलाई उनि आफ्नो गडफादर समेत मान्छन् । उनै धिरजले उनलाई स्वर्गिय आलोक नेम्वाङ, भुषण दाहाल, आसिफ शाह लगायत चल्तिका निर्देशकहरु सम्म पुर्‍याउने काम गरे । अनुभवी भएसँगै रामले प्रोडक्सन म्यानेजरकै रुपमा जिम्मेवारी समहाल्न थाले । कुनैपनि शुटिङको दिन ब्यबस्थापनको सम्पुणर्र् कमाण्ड सम्हाल्ने ब्यक्तिलाईनै प्रोडक्सन म्यानेजर भनिने रामको तर्क छ । उनका अनुसार शुटिङमा कलाकार ब्यबस्थापन देखी लिएर प्राबिधिक, लोकेसन, प्रप्स, किचेन, यातायात लगाएत सम्पुणर् ब्यबस्थापनको जिम्मेवारी प्रोडक्सन म्यानेजरको काँधमा हुन्छ । शुटिङमा आइपर्न सक्ने सबै खाले समस्यालाई समाधान गर्दै सहज रुपमा शुटिङ गराउन प्रोडक्सन म्यानेजर सक्षम हुनपर्ने उनको भनाई छ ।

दक्ष छन् नेपाली प्राबिधिक...

प्रोडक्सन म्यानेजरको रुपमा रामले सबै शुटिङ युनिटको ख्याल गर्नुपर्ने हुन्छ तर प्राबिधिकहरुसँग अझ नजिकको नाता हुने उनको बुझाई छ । “ प्राबिधिकहरु मेरुदण्ड हुन् जसको इफोर्टको आधारमा कुनैपनि कन्टेन्ट छायांकन हुन्छ, उनिहरु अत्यन्तै मेहेनत गरेर काम गर्छन र शुटिङलाई सम्भब बनाउछन् ” रामले भने । नेपाली प्राबिधिकहरु अत्यन्तै मेहनती र अनुशाशित भएको उनको बुझाई छ, तर मेहेनत अनुसारको पारिश्रमिक भने प्राबिधिकले अझै पाउन नसकेको उनको जिकिर छ । दिलोज्यान लगाएर काम गर्ने प्राबिधिकलाई पारिश्रमिकमा कन्जुस्याईँ गर्न नहुने उनि बताउछन् । उनि भन्छन् “ पब्लिकले प्राबिधिक चिन्दैनन्, उनिहरुले गरेको काम जतिनै सफल भएपनि पाउनु पर्ने जसरी जस पनि पाउदैनन् त्यसैले कम्तिमा उनिहरुले मेहेनतअनुसारको पारिश्रमिक समयमै पाउनु पर्छ । ”

सन्तोषको यात्रा .....

रामले हजारौको संख्यामा बिज्ञापन र म्युजिक भिडियोमा काम गरेका छन् । आजपनि टेलिभिजन, सिनेमाहल, फेसबुक इन्स्टाग्राममा आउने धेरै जसो बिज्ञापनहरुमा उनि जोडिएका हुन्छन् । जि टु वान प्रोडक्सन, आर्को आइरिस लगायतका प्रोडक्सन हाउसमार्फत बन्ने सम्पुणर् कमर्सियल बिज्ञापन र म्युजिक भिडियोका उनि प्रोडक्सन हेड हुन् । आफ्नो यात्रालाई फर्किएर हेर्दा उनि आज जुन स्थानमा छन् त्यसमा सन्तुष्ट छन् । यहि क्षेत्रलाई आधार बनाएर उनले राम्रो आर्थिक प्रगती पनि गरेका छन् । आफ्नो कामबाट परिवारका सदस्यपनि खुशी रहेको उनले बताए ।

इमान्दारहरु सफल हुन्छन्....

रामले डेढ दशक सम्म यो क्षेत्रमा संलग्न हुँदा धेरै उकाली ओराली चौतारीहरु देखेका छन् । धेरै कलाकारहरुको सफलता, असफलता नियालेका छन् । जिरोबाट हिरो भएकाहरु र हिरोबाट बर्बाद भएकाहरुको सम्म कथा उनलाई थाहा छ । यो सबै अनुभवलाई आधार मान्दै उनि भन्छन् “ इमान्दार,मेहनती, अनुशासित र अशल मान्छेहरु नै हरेक क्षेत्रमा सफल हुन्छन् , भाग्यको कुरापनि होला तर मुख्य चाँही तपाइ आफ्नो काममा कति इमान्दार हुनुहुन्छ भन्ने नै हो । ” अप्ठेरो परिस्थितीमा पनि नडगमगाई संघर्ष गर्नेहरु सफल भएको उनको बुझाई छ । तर यसको बिपरित सफल हुँदाहँुदै पनि सम्हालिन नसकेर झरेकाहरुपनि उनले देखेका छन् । अन्तिममा उनि भन्छन् “ तपाई प्रतिभाशाली, मेहेनती, धैर्यवान र अनुशासित हुनुभयो भने तपाइले यहाँ नाम दाम प्रतिष्ठा सबै पाउन सक्नु हुन्छ, तर आफ्नो काममा इमान्दार हुनु भएन भने पाएर पनि गुमाउनु हुने छ । ”