असोज १७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आजबाट फिल्मलाई  हलबाट उतारेका छन् l सामाजिक सञ्जालमा बस्नेतले भनेका छन्, “हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धन्यवाद। सम्मानजनक शो उपलब्ध गराएकोमा क्यूएफएक्स सिनेमाजलाई विशेष धन्यवाद। तर भोलीदेखि (अक्टोबर १७) नेपालका सबै हलहरूबाट हाम्रो फिल्म उतार्ने निर्णय गरेका छौँ।” फिल्मले राम्रो अकुपेन्सी हासिल गरे पनि पर्याप्त शो नपाएको गुनासो गर्दै हिन्दी फिल्महरूलाई प्राथमिकता दिएको उल्लेख गरेका छन्। उनले भविष्यमा हलहरूको विकल्प खोज्नुपर्ने सङ्केतसमेत गरेका छन्। बस्नेतले ‘बेहुली फ्रम मेघौली’ चाँडै नै नयाँ ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत दर्शकहरूसँग उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेका छन्। यसअघि दशैंको माहोलमा बस्नेतको चलचित्र ‘दिमाग खराब’ उक्त ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । उक्त एपमा ‘महाजात्रा’ र ‘घरज्वाइँ’  पनि रिलिज भएका छन् । सो एप डाउनलोड गरेर साइनअप गर्दा ओटीपी नआउने समस्या रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले गुनासो गरेका थिए । बस्नेतले उक्त समस्या समाधान भइसकेको बताए पनि ओटीपी कोड नआइरहेको गुनासो आएका छन् ।