फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीको नयाँ एक्सन फिल्म ‘कर्मा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा देखिने भएका छन् । शुक्रबार एक पोस्टरमार्फत् फिल्ममा विपिनको प्रवेशबारे जानकारी गराइएको हो । पोस्टरमा उनलाई जिममा बारबेल उचाल्दै गरेको देख्न सकिन्छ । फिल्ममा उनी एक्सन भूमिकामा देखिनेछन् ।फिल्ममा निर्देशक चौधरी स्वयंको लेखन छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्साल निर्मातामा छन् । तत्काल विपिनबाहेक फिल्ममा अरु कलाकार निश्चित भएका छैनन् । यसमा कलाकारको ‘लाइनअप’ बलियो हुने जनाइएको छ ।आगामी मंसिर दोस्रो सातापछि छायांकनमा जान लागेको फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ ।