‘तेल भिसा’को फिल्मको तेस्रो गीत ‘कति रमाइलो’ सार्वजनिक गरिएको छ ।अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एक नारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर नृत्य गर्दै प्रस्तुत छन् भने फिल्मका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा देख्न सकिन्छ । अमेरिकामा खिचिएको गीतमा अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ ।
निर्देशक शंकर घिमिरेको कमब्याक फिल्ममा निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । यसमा सुशन प्रजापतिको छायांकन छ ।आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ ।