फिल्म ‘अग्निदहन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘दाई दाई नभन मलाई’ बोलको लोक लयको गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको युगल गायन छ भने परशुराम अधिकारीको संगीत तथा लोकमणि पौडेलको शब्द रचना छ । धर्मेन्द्र पौडेलले कोरियोग्राफी रहेको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे लगायत नृत्य गर्दै प्रस्तुत छन् । लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ ।
फिल्मलाई घनश्याम लामिछानले निर्देशन गरेका हुन् । मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।आगामी मंसिर ७ गतेबाट फिल्म प्रदर्शन हुदै छ ।