फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ आज बाट रिलिजमा आएको छ l ट्रेलर र गीतले दर्शकबाट अत्याधीक सकारात्मक प्रतिक्रिया पाएको फिल्मको आज बाट परीक्षा सुरु भएको छ l फिल्मले देशभर १ सय २० हाराहारी शो पाएको देखिन्छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंसहित आफ्नो दशवटा आउटलेटमा फिल्मलाई ३८ शो दिएको छ । दोस्रो ठूलो मल्टीप्लेक्स आईएनआईले फिल्मलाई तीनवटा आउटलेटमा ९ शो दिएको छ भने काठमाडौंका वान सिनेमाजले दुईवटा आउटलेटमा ६ शो, एफक्यूब, बिएसआर मुभिज र बिग मुभिजले समान ३/३ शो, रञ्जना सिनेप्लेक्स र सिडिसी सिनेमाजले समान ५/५ शो र कीर्तिपुर सिनेमाजले २ शो दिएका छन् । अब प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई रहनेछ । भोलि बिहीबार लक्ष्मीपूजाबाट भने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आउँदैछ । रिलिजको हिसाबले एक्लै भए पनि फिल्मलाई चुनौती ठूलो छ । एकातिर ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को ‘थ्रेट’ छ भने अर्कोतिर शुक्रबारबाट प्रदर्शनमा आउन लागेका बलिउडका दुई ठूला सिक्वेल फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैयाँ ३’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।फिल्ममा विजय बराल शीर्ष भूमिकामा छन् । उनले मुख्य भूमिकामा अभिनय गरेको यो पहिलो फिल्म हो । यसअघि उनी सहायक भूमिकामा देखिँदै आएका थिए । यसमा उनको छोराको भूमिकामा गायक समेत रहेका प्रकाश सपूतले अभिनय गरेका छन् । सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायतको पनि अभिनय छ ।