नेपाली फिल्म 'एक मुठ्ठी बादलः माई सेयर अफ स्काई' नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ।यस अन्तर्गत फिल्मले ६० हजार युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ। जुन ८७ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ। एक मुठ्ठी बादल' की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन्। यस फिल्ममा नेपालबाट निर्माता 'मन प्रडक्सन' र 'अन्डरग्राउन्ड टकिज' पनि निर्माणमा सहभागी रहेका छन्। यस फिल्मका अन्य प्रमुख निर्माताहरूमा नेपालबाट अनुप पौडेल र सामीप्य राज तिमल्सेना रहेका छन् भने कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ छन्। साथै जर्मनीबाट रोक्शाना रिचर निर्माताको रुपमा रहेकी छिन्। गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी) को सह–निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिला प्रधान अन्तर्राष्ट्रिय स्तरमा सह–निर्मित फिल्म हो।