फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक गरीएको छ l यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्रेलर गत बुधवार सार्वजनिक भएको हो l  ट्रेलर हेर्दा  अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेम सम्बन्धमा आउने उतार-चढाव नै फिल्मको कथावस्तु रहेको बुझ्न सकिन्छ ।  हरिहर रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत छन् । कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिन्छ ।अभिनेत्री विपना थापाले हरिहरकी आमाको भूमिका निभाएकी छन् । साउथ अभिनेता ब्रह्मानन्दम नीताको मामाको भूमिकामा देखिएका छन् भने ‘पुष्पा’ भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा प्रस्तुत छन् ।

साउथका कलाकारहरु अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता हिन्दी फिल्म खिचेका छन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी छन् ।