फिल्म ‘हरिबहादुरको जुत्ता’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यसमा हरिवंश स्वयं शीर्ष भूमिकामा देखिँदैछन् भने गायक प्रकाश सपूतको पनि अभिनय रहनेछ । अब मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का भित्रिएकी छन् ।शुक्रबार निर्माता सरोज ओलीले स्वस्तिमासँग कागजी सम्झौता गरेका हुन् । निर्देशक दीपेन्द्र के. खनालसँग स्वस्तिमाको यो तेस्रो सहकार्य हुनेछ । यसअघि उनीहरुबीच ‘लभ लभ लभ’ र ‘चिसो मान्छे’ गरी दुई फिल्ममा सहकार्य भएको थियो । हरिवंशसँग स्वस्तिमाले पहिलोपटक फिल्ममा काम गर्न लागेकी हुन् । फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्य स्वयंको छ । केही समयअघि फिल्मको घोषणा गर्दै उनले भनेका थिए, ‘मेरो मनमा एउटा ‘कन्सेप्ट’ फुरिरहेको थियो । सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफैं फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । ‘आइडिया’ युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’