फिल्म ‘केटी हराएको सूचना’ अब पूर्वनिर्धारित मितिमा नआउने भएको छ । यस् अघी कातिक ३० गतेलाई रिलिज मिती तय गरिएको फिल्मको शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रकारले ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँट गर्नुपर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकोले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै ‘केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौं ।’ दीपेन्द्र गौचनको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको ‘केटी हराएको सूचना’मा नाजिर हुसेन, सृष्टि श्रेष्ठ सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल लगायतको अभिनय छ भने अमितेष शाह विशेष भूमिका छन् । नकिम उद्दिन फिल्मका कार्यकारी निर्माता हुन् ।