दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा कलाकारको ‘लाइनअप’ बलियो बनिरहेको छ । अभिनेताद्वय हरिवंश आचार्य र प्रकाश सपूतपछि शुक्रबार मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्ध भइन् । अब फिल्ममा अर्की अभिनेत्री प्रियंका कार्कीको पनि प्रवेश भएको छ । आइतबार प्रियंकाले सामाजिक सञ्जालमा निर्देशक खनालबाट स्क्रिप्ट बुझेको तस्वीर सेअर गर्दै फिल्ममा आफूलाई अनुबन्धित गरेकोमा निर्मातासहितको टिमलाई धन्यवाद दिएकी छन् ।फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्य स्वयंको छ । उनले ‘आइडिया’ युनिक रहेकाले फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरेका छन् । फिल्मलाई गायक समेत रहेका सरोज ओलीले निर्माण गर्नेछन् । सरोजले हरिवंश र प्रियंकासँग थुप्रै गीतमा सहकार्य गरिसकेका छन् । आगामी माघको दोस्रो सातादेखि काभ्रेमा फिल्मको छायांकन हुने जनाइएको छ ।