शुक्रबारबाट ‘सारङ्गी’लाई चुनौती दिन फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा उत्रिएको छ । आज बाट प्रदर्शनमा उत्रीएको फिल्मलाई बिहान बाटै सुखद ओपनिङ मिलेको छ । निर्माण अगावैदेखि ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्मले देशभर लगभग डेढ सय शो पाएको छ । ‘ह्रस्व दीर्घ’को बुधबारबाट बुकिङ खुलेको थियो । फिल्मको देशभर बुकिङ ट्रेन्ड उत्साहप्रद देखिएको छ । बिहान ९ बजेपछिका धेरैजसो शो हाउसफुल छन् । नेपाली फिल्मको ‘डोरसेल’ अझ राम्रो हुने भएकाले फिल्मले बिहानी शोबाटै हाउसफुलको यात्रा सुरु गर्ने देखिन्छ । बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भएको खण्डमा दिउँसोबाट फिल्मले थप गति समात्न सक्छ ।द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्तको निर्देशनमा तयार भएको ‘ह्रस्व दीर्घ’ ६ करोडको बजेटमा निर्माण भएको हो । फिल्ममा नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै छ । यसमा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल लगायतको अभिनय छ । फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।