नायिका अञ्जना बराइली नयाँ फिल्म ‘डोरी’मा आबद्ध भएकी छन् । उनीसँग निर्माताले यसै साता कागजी सम्झौता गरेका हुन् ।  यसअघि फिल्ममा कलाकारहरु प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई लगायत निश्चित भइसकेका छन् ।हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण रहने फिल्मलाई सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ । ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनमा जोखिमपूर्ण निर्णयहरू लिने एउटा सङ्घर्षशील युवाको वरिपरि घुम्ने निर्देशक लामाले जनाए । उनका अनुसार फिल्ममा हाँसो, त्रास र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिनेछ ।जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन् । उनी स्वयंको लेखन रहेको फिल्ममा मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । ‘मिस्टर एक्स’ निर्माता रहेको फिल्ममा राजनराज सिवाकोटीको सङ्गीत, सौरभ लामाको छायांकन तथा राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ ।