भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'तेल भिसा' को टिकट बूकिङ राम्रो देखिएको छ l फिल्मलाई मल्टीप्लेक्सहरुले राम्रो शो उपलब्ध गराएका छन् । बिहीबार दिउँसो १२ बजेसम्म फिल्मले देशभर १ सय ३० हाराहारी शो पाएको देखिन्छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र देशभरका १० वटा हलमा गरी कूल ५० शो दिएको छ । त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले ९ शो उपलब्ध गराएको छ ।काठमाडौंमा सञ्चालित वान सिनेमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी ७ शो, एफक्युबले ६ शो, बिग मूभिज र सिने डी सेफले समान ४/४ शो, बिएसआर मुभिज र सिके सिनेमाजले समान ३/३ शो, रञ्जना सिनेप्लेक्सले ५ शो र कीर्तिपुर सिनेप्लेक्सले १ शो दिएका छन् । पोखरा, नेपालगञ्ज, चितवन, विराटनगर, इटहरी जस्ता सहरमा पनि फिल्मलाई राम्रो शो उपलब्ध भएको छ ।शंकर घिमिरेको निर्देशन रहेको फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा छन् । उनलाई बाबु र छोराको भूमिकामा देख्न सकिनेछ । उनीसहित फिल्ममा वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको अभिनय छ । आफ्नो छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका पुगेकी आमाले भोग्नुपरेको कानुनी झमेलाको कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पारिसकेको छ । फिल्ममा समावेश ‘कति रमाइलो’ गीत यतिबेला चर्चामा छ ।