भ्यालेनटाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुःखी आत्मा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा रोमान्टिक देखिएका छन् । साथै पोस्टरमा भने दयाहाङ र आँचलसहित अनुप विक्रम शाही, बुद्धि तामाङ, अशान्त शर्मा, लोकेन्द्र लेखक र रेअर राई पनि चित्रित छन् । तीनवटा पोस्टरले फिल्मप्रति दर्शकमा उत्सुकता जगाउनेमा निर्माण टिम विश्वस्त छ ।निर्देशक दिपेन्द्र लामा स्वयंको लेखन रहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यसअघि दीपेन्द्र र हिमालबीच हिट फिल्म ‘नाङ्गो गाउँ’मा सहकार्य भएको थियो । क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुदीप ढकाल छन् । दीया मास्केको पनि महत्त्वपूर्ण भूमिका रहेको फिल्ममा चर्चित कवि श्रवण मुकारुङले विभिन्न शीर्षकमा तयार पारेको १० वटा कविता समेटिएको छ । त्यसलाई फिल्ममा दयाहाङको पात्रमाथि फिल्मांकन गरिएको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।