‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन् । भिजुअल आट्र्स स्टुडियोको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।
एसडी योगीद्वारा संगीतबद्ध गीतमा शब्द लेखन राम अविरल विष्टको छ । योगी र विज्ञानी पराजुलीले स्वर दिएका छन् । भिजुअल आट्र्स र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथामार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनालाई प्रस्तुत गरेको छ ।विवेक रसाइली निर्देशित भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बा फिचर्ड छन् । मिरुनाको पात्रले आफ्नो प्रेम र करिअरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ ।