आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को निर्माण टिमले भने फरक प्रयोग गर्दै बिहीबार ‘ब्रेकअप कविता’ नाम दिएर एक भिडियो सार्वजनिक गरेको छ, जसमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्मालाई कविता पढेर सुनाइरहेका छन्
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यसमा दयाहाङ र आँचलसहित अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतको अभिनय छ । सुदीप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।केही दिनअघि सार्वजनिक टिजरले दर्शकमाझ ‘दुःखी आत्मा’को राम्रो हाइप बनाएको छ । यौन आकर्षण र दुर्बलताको कथा पेस गरिएको टिजरमा दयाहाङको पात्र इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकता (सम्भोगको क्रममा उत्तेजना नहुनु) समस्याबाट पीडित देखिन्छ । टिजरमा पनि उनले वाचन गरेको कविताको अंश सुन्न सकिन्छ । ‘दुःखी आत्मा’लाई ‘एडल्ट ड्रामा’ भनिएको छ ।