अभिनेता सुशील श्रेष्ठको करिअरका लागि फिल्म ‘आउट ल’ महत्त्वपूर्ण छ ।  यसैले उनले फिल्ममा दिलोज्यान दिएर मिहिनेत गरिरहेका छन् । केही हप्ताअघि ४० लाख खर्चिएर फिल्मको एउटा एक्सन सिक्वेन्स खिचिएको थियो, जसमा सुशीलले खतरनाक दृश्य दिए । उनको शरीरमा आगो लगाइएको थियो । र, बलिरहेको आगोमै उनले झन्डै एक मिनेट एक्सन गरेका थिए । फिल्ममा यो दृश्य महत्त्वपूर्ण रहेको निर्देशक विक्की महर्जनले जानकारी दिए । उनका अनुसार फिल्ममा सुशीलको ५० मिनेट लामो एक्सन छ ।हलिउड र कोरियन स्टाइलमा एक्सन कोरियोग्राफी रहेको दाबी गरिएको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारी लगायतको अभिनय छ । निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा नवीन गुरुङको छायांकन, चुल्ठे काजीको द्वन्द्व निर्देशन तथा साहिल खानको सम्पादन छ ।होलीको दिन पारेर आगामी फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको निर्माता अमित अग्रहरी हुन् । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्मातामा छन् ।