लामो समयदेखि हास्य टेलिसिरियल ‘सक्किगोनि’मा ‘काकु’को भूमिकामा अभिनय गर्दै आइरहेका दीपक आचार्यको निर्देशनमा बन्न लागेको फिल्म ‘परान’मा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले लगानी गर्न लागेका हुन् । यो उनको पहिलो निर्माण हुनेछ । फिल्म निर्माणमा शेखरलाई रञ्जीत आचार्यले सघाउने जनाइएको छ ।पहिला निर्देशक आचार्य ‘सक्किगोनि’ समूहले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा आबद्ध थिए । स्क्रिप्ट लेखनमा समेत सघाएका उनले विशेष भूमिकामा अभिनय गर्ने पनि निश्चित थियो । तर, अन्तिम समयमा टिमभित्र असमझदारी उत्पन्न हुँदा दीपक बाहिरिए । त्यसपछि उनले चलचित्र विकास बोर्डमा ‘परान’ शीर्षक दर्ता गर्दै फिल्म निर्माणको इजाजत लिएका थिए ।
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार निर्देशक आचार्यले फिल्ममा कलाकारको लाइनअप लगभग पूरा गरिसकेका छन् । नीर शाह, प्रवीण खतिवडा, अञ्जना बराइली, महेश त्रिपाठीको फिल्ममा अभिनय रहने निश्चित भइसकेको जनाइएको छ । बायस्कोप सिनेमाको ब्यानरमा बन्न लागेको फिल्मले बाबु-छोरीको भावनात्मक सम्बन्धको कथा बन्नेछ । फिल्मको छायांकन यसै वर्ष हुनेछ ।