फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई समावेश गरिएको छ ।  अभिनेता विजय बराल , सिताराम कटेल `धुर्मुस´ , महेश त्रीपाटी , अर्पण थापा लगायतलाई प्रस्तुत गरिएको छ । पोस्टरमा धुर्मुश १४ जनाको हत्या गरेको अभियोगमा हाल जेलमा रहेका पूर्वमन्त्री मोहम्मद आफतव आलमको हुलियामा प्रस्तुत छन् ।सीतारामलाई दौरा-सुरुवाल र कालो रंगको ज्वारीकोटमा देख्न सकिन्छ । एउटा हात उठाएर अभिवादन गरिरहेका उनको अर्को हातमा आइफोन छ । घाँटीमा चस्मा झुण्ड्याएका छन् । उनी दुरुस्तै पूर्वमन्त्री आलम देखिन्छन् । फिल्ममा उनी क्रूर राजनीतिज्ञको भूमिकामा रहेको यसबाट प्रष्ट हुन्छ  । पृष्ठभूमिमा भने त्रिभुवन विमानस्थलको दृश्य र दुर्गम पहाडी भेगमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको गहिरो कथावस्तुबारे छनक दिन्छ । यो फिल्म आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउने तयारीमा छ ।
कुमार कट्टेलको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा अर्जुन घिमिरे, हरिष निरौला, सागर लम्साल, प्रशान्त ताम्राकार, रेणु योगी, प्रियाना आचार्य, माला लिम्बू लगायतको पनि अभिनय छ । सुदीप बरालको छायांकन रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ तथा सह-निर्मातामा राम नरेश शाह र सृजना खड्का छन् । यो फिल्मको एउटा गीत काठमाडौंका मेयर बालेन्द्र शाहले गाएका छन् ।