रिलिज समय नजिकिदै गर्दा फिल्म ‘एक्टर’विवादमा तानिएको छ । नामका कारण फिल्म विवादमा तानिएको हो । फिल्म रिलिजपूर्व ‘हामी नै असली एक्टर हौं’ भन्दै पत्रकार सम्मेलन गरेका निर्माताले आइतबार अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् ।

‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले अदालतमा दर्ता गरेको रिटमा प्रतिलिपि अधिकार बमोजिम कारबाही गरेर क्षतिपूर्ति दिन आदेश माग गरिएको छ । उनले रिटमा बौद्धिक सम्पत्ति चोरी गरेर ‘एक्टर’ नाममा अर्को फिल्म बनाउने कार्य अनैतिक रहेको र यसबाट आफूलाई धेरै क्षति हुने अवस्था रहेको उल्लेख गरेका छन् ।