सिरिज‘पाताल लोक २’ का कारण अभिनेता तथा गायक प्रशान्त तामाङ चर्चामा छन् । चर्चित ओटीटी प्लेटफर्म प्राइम भिडियोमा १७ जनवरीबाट रिलिज भएको यो सिरिजमा उनी महत्त्वपूर्ण भूमिकामा प्रस्तुत छन् ।
सिरिजमा प्रशान्तको भूमिका नकारात्मक छ । स्नाइपर डेनियल लीचूको भूमिका निर्वाह गरेका उनको उपस्थितिले सिरिजलाई नै नयाँ मोड दिन्छ । यसको अर्थ उनको भूमिका सिरिजमा प्रभावशाली छ । र, अभिनयमा पनि उनी सशक्त देखिएका छन् । यसैले त भारतीय मिडियामा समेत प्रशान्तको अभिनयलाई लिएर चर्चा भइरहेको छ ।इन्डिया टिभीको अनलाइन संस्करणमा प्रशान्तले ‘पाताल लोक २’मा गरेको अभिनयलाई लिएर भनिएको छ, ‘यो सिरिजमा उनको अभिनयपछि उनी अब हिन्दी क्षेत्रमा पनि शक्तिशाली अभिनेताका रुपमा चर्चामा आउनेछन् ।’ त्यस्तै, बलिउड मिडिया पिंकभिल्ला लेख्छ, ‘एक अभिनेताको रूपमा प्रशान्तले महत्वपूर्ण छाप छाडेका छन् । सिरिजमा उनको असाधारण प्रदर्शन छ ।’
दार्जिलिङमा जन्मिएका प्रशान्त सन् २००७ मा ‘इन्डियन आइडल’को विजेता बनेका थिए । २०१० मा ‘गोर्खा पल्टन’बाट अभिनेताको रुपमा नेपाली फिल्ममा डेब्यु गरेका उनले यसपछि ‘निशानी’, ‘अंगालो यो मायाको’, ‘किन मायामा’ जस्ता फिल्ममा पनि अभिनय गरेका छन् । प्रशान्तको ‘मन साइँली’, ‘जाउला रेलैमा’, ‘शिरीमा शिरी’, ‘अर क्यानम मन यो’ लगायतका गीतहरु निकै चर्चित छन् l