हास्य कलाकार मध्य परिचित नाम हो विल्सन विक्रम राई । ‘मेरी बास्सै' नामक हास्य टेलिसिरियलमा ‘तक्मे बुढा’को परिचय बनाएका विल्सनले दर्जनौ चलचित्रमा काम गरिसकेका छन् । बलिउड चलचित्रमा समेत काम गरिसकेका विल्सनले बिहीबार एक कार्यक्रममा अबबाट छोटो भूमिका (गेस्ट रोल) मा काम नगर्ने बताएका छन् । "ड्रिम गर्ल" नामक चलचित्र घोषणा कार्यक्रममा पुगेका विल्सन भन्छन् ‘विगतका चलचित्रमा मैले धेरै गेस्ट रोलमा काम गरे । मैले छोटो भूमिकाको लागी पारिश्रमिक समेत लिएको छैन । यसरी धेरै चलचित्रमा खेल्दा दर्शकले म माथि जुन अपेक्षा राखेको हुन्छ, त्यो पुरा गर्न सकिरहेको छैन ।’ फिल्म मेकरले गेस्ट रोलको ब्राण्ड एम्बेस्डर बनाएकाे बताउने विल्सन यसैकाे कारण दुख समेत पाएकाे बताउछन् । सिनेपाटीसँग कुरा गर्न क्रममा उनी गुनासो पोख्दै भन्छन् ‘कति चलचित्रको लागी ३ देखि ४ दिन लगाएर सुटिङ गरेको छु । तर रिलिज भइसक्दा सिन काटिएको, आफूले खेलेको भाग नरहेको थाहा पाउदा दुख लाग्छ ।’ विल्सनले हालै ‘रातो घर’ नामक चलचित्र निर्माण गरेका थिए ।