गत शुक्रबार बाट रिलिजमा आएको फिल्म ‘एक्टर : टेक वान’लाई दर्शकले मनपराएका छन् ।  पहिलो दीन खासै दर्शक तान्न नसके पनि फिल्म शनिबार बिहानैदेखि फिकाठमाडौंसहित देशभरका हलमा राम्रो अकुपेन्सी हासिल गरेको छ । र, दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेको छ ।

शनिबार फिल्मका मुख्य अभिनेताहरू प्रदीप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी काठमाडौंका विभिन्न हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । उनीहरु ललितपुरस्थित क्युएफएक्स हलमा पुग्दा दर्शकहरुले हुटिङ गर्दै प्रेम दर्शाए । ‘एक्टर : टेक टू’को माग समेत गरे । 
फिल्म हेरेका दर्शकहरुले अप्रत्याशित क्लाइमेक्सको प्रशंसा गरेका छन् । प्रदीपको अभिनय, राजबल्लभको पुनरागमन र दिव्याको डेब्यु अभिनयको तारिफ भएको छ । अभिनेत्री आना शर्मा र निर्देशक राजन भुसालको काम पनि निकै रुचाइएको छ । दर्शकीय प्रतिक्रिया मात्र नभइ फिल्मलाई समीक्षा पनि राम्रो मिलेको छ । ‘हेर्नलायक सस्पेन्स-थ्रिलर’ भन्दै समीक्षा आइरहेका छन् ।  थमन कुमार भण्डारीको निर्माण रहेको फिल्ममा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतको अभिनय छ । फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।