यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कृ’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार ‘कृ’का निर्माता सुवास गिरीले आफ्नो फेसबुकमार्फत स्टाटस लेख्दै चलचित्रको अन्तिम सेड्युलको सुटिङ बिट मारेको बताएका छन् । साथै 'कृ'को ट्रेलर यही मङ्सिरको पहिलो साता रिलिज हुने र चलचित्र माघ २६ गते प्रदर्शनमा आउने लेखेका छन् । अनमोल केसी अभिनित 'कृ'को यस अघि पनि प्रदर्शन मिति तय गरिएको थियो । तर चलचित्रको छायाङ्कन नसकिएको कारण प्रदर्शन मिति सारिएको थियो । निर्माता गिरीका अनुसार माघ २६ गते नै 'कृ' रिलिज हुने तय भइसकेको बताएका छन् । यता सोही मितिमा अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ प्रदर्शन हुने तयारीमा रहेको छ । माघ २६ गते रिलिज डेट राख्दै कान्छीको पहिलो गीत समेत सार्वजनिक भइसकेको छ । चलचित्रमा श्वेताको साथमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ ।
बुझिए अनुसार ‘कान्छी’को रिलिज डेट पोस्टपोन्ड हुने छैन । यस हिसाबले हेर्ने हो भने अनमोलको ‘कृ’ र दयाहाङको ‘कान्छी’ एकसाथ आउने पक्का छ । अनमोलको युवामाझ बेग्लै क्रेज छ । उनी अभिनित कुनै चलचित्रले असफलताको स्वाद चाख्नु परेको छैन । यता अब्बल अभिनयका कारण चर्चामा रहने अभिनेता दयाहाङ अभिनित चलचित्रले पछिल्लो समय दर्शक माझ खासै जादु गर्न सकेको छैन । लामो समय पश्चात् चलचित्रमा कमब्याक गरेकी अभिनेत्री श्वेता खड्काको लागी कान्छी अझ विशेष छ । यसै चलचित्रबाट उनी निर्माण र अभिनयमा एकसाथ देखा परेकी छिन् । युवामाझ आफ्नो बेग्लै स्टारडम बनाउन सफल दयाहाङ र अनमोल कसलाई को भारी पर्छन् ,भिडन्त पक्कै रोचक हुने वाला छ ।