दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त पूजापछि काभ्रेको पनौती नगरपालिकामा पर्ने शंखुबाट छायांकन सुरु गरिएको हो । ४५ दिनको सेड्युलमा फिल्मलाई काभ्रेपछि काठमाडौं उपत्यकामा खिचिनेछ ।हरिवंश आचार्यको लेखन रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै प्रकाश सपूत, प्रियंका कार्की, स्वस्तिमा खड्का, किरण केसी, मुरलीधर लगायतको पनि अभिनय रहनेछ । निर्देशक खनालले अघिल्ला फिल्ममा सिकेको कुरा यसमा लगाउनु बताए । दीपेन्द्रले प्रियंका र स्वस्तिमासँग यसअघि काम गरिसकेका छन् । हरिवंश र प्रकाशसँग भने उनको यो पहिलो सहकार्य हो ।सरोज ओली र मोहितवंश आचार्यले निर्माण रहने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्नेछ । प्राप्त जानकारी अनुसार दुई दशकअघिको चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’मा हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्रबाट प्रभावित भएर फिल्म बन्न लागेको हो । यसमा उनले हरिबहादुरकै भूमिका निभाउनेछन् । उनको जोडीको रुपमा प्रियंका देखिने स्रोत बताउँछ ।