अभिनेत्री आना शर्माले नयाँ फिल्मको छायांकन सुरु गरेकी छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यसबारेमा जानकारी गराएकी हुन् । एक तस्वीरसहित ‘नयाँ सुरुवात’ भन्दै उनले लेखेकी छन्, ‘यो यात्रा र अगाडिका सबै चिजको लागि उत्साहित छु ।’ उनले फिल्मको नाम भने खुलाएकी छैनन् ।तस्वीरमा आनासहित भारतीय अभिनेता सत्यजीत दुबे र निर्देशक रोहितकरण वैद्य छन् ।  यसको केही प्रतिशत छायांकन ३ वर्षअघि गरिएको थियो । त्यसबेला मुख्य भूमिकामा आनासहित राजेश हमाल र अनुप विक्रम शाही पनि थिए । तर, छायांकन नै पूरा नभइ फिल्म रोकिन पुगेको थियो ।सत्यजीतसँग उनको जोडी बाँधिएको छ । केही दिन वर्कसप गरेपछि आइतबारबाट छायांकन सुरु गरिएको यो फिल्म प्रेमकथामा आधाररित रहेर बन्न लागेको बुझ्न सकिन्छ ।छायांकनका लागि केही दिनअघि नेपाल आएका सत्यजीत चर्चित वेब सिरिज ‘मुम्बई डायरिज’का कारण चिनिन्छन् । भ्यालेनटाइन डेमा उनको नयाँ वेब सिरिज ‘प्यार टेस्टिङ’ जी फाइभमा रिलिज हुँदैछ । उनले अभिनेता सञ्जय दत्तसँग फिल्म ‘प्रस्थानम’मा पनि काम गरेका छन् । उनले सन् २०११ मा प्रदर्शनमा आएको फिल्म ‘अल्वेज कभी कभी’बाट बलिउडमा करिअर सुरु गरेका थिए ।