आज शुक्रवारबाट सिनेमाघरमा एकसाथ चार नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । जसमा ‘मेला’, ‘रोमियो’, ‘तान्द्रो’ र ‘सकस’ रहेको छ ।
‘मेला’
मित्रता र प्रेमको वरपर रहेर बनेको चलचित्र ‘मेला’लाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।
निर्माण पक्षको अनुसार चलचित्रमा प्रेमकथा सँगै कमेडी पनि भरपुर रहेको छ । मेलालाई हरि पन्तले निर्माण गरेका हुन् ।
‘तान्द्रो’
द्धन्द्धकाल कालीन समयमा एक व्यक्तिले भोगेको, देखेको घटनालाई चित्रण गरिएको बायोपिक चलचित्र हो ‘तान्द्रो’ । चलचित्रमा दयहाङ राईले गङ्गा बहादुर लामाको भूमिका निर्वाह गरेका छन् । बुधवार आयोजना गरिएको चलचित्रको प्रिमियरले राम्रो प्रतिक्रिया पाएको थियो । सम्तेम भुटियाको निर्देशन रहेको चलचित्रमा दयाको साथमा रामबाबु गुरुङ, राजन खतिवडा ,बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
‘रोमियो’
लभ स्टोरी जनराको चलचित्र ‘रोमियो’ पनि आज बाट रिलिज भएको छ। हसनराजा खानको निर्माणमा तयार भएको चलचित्रलाई शङ्कर कार्कीले निर्देशन गरेका छन्। चलचित्रमा निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बानु र हसनराजा खान मुख्य भूमिकामा रहेका छन्।
‘सकस’
एनवि महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘सकस’ आजबाट रिलिज भएको छ। चलचित्रमा प्रज्ज्वल गिरी, सुनिल दत्त पाण्डे, सुष्मा कार्की, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ।
आजबाट प्रदर्शनमा आएका यी चार चलचित्रसँगै गत साता प्रदर्शन भएको चलचित्र ‘फाटेको जुत्ता’ दोस्रो सातामा प्रवेश गरेको छ । कमेडी जनरामा बनेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमारको निर्माणमा तयार भएको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, रविन्द्र झा, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ।