फिल्म ‘ममी’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार सुन्धारास्थित क्यूएफएक्सको सिभिल हलमा गरिएको प्रिमियरमा उपस्थित प्रायःले हरर-थ्रिलर जनरामा बनेको अहिलेसम्मको उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिए । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विषयवस्तु अनुसार उत्कृष्ट फिल्म बनेको बताइन् । उनले भनिन्, ‘क्लाइमेक्सबाट दिन खोजिएको म्यासेज एकदमै राम्रो छ । त्यो म्यासेज अर्थपूर्ण छ । प्रियंका कार्कीको अभिनय बबाल छ ।


अभिनेता सलोन बस्नेतले पनि फिल्म राम्रो बनेको बताए । उनीसँगै प्रिमियरमा पुगेकी फिल्म ‘रंगी’की अभिनेत्री नम्रता श्रेष्ठले ‘ममी’ले तर्साउन र समाजमा घट्ने नराम्रा घटनाबारे पनि सजग हुन सचेत गराएको धारणा व्यक्त गरिन् । फिल्मको ब्याकग्राउन्ड स्कोरले उनलाई बढी तर्सिएको रहेछ । सलोन र नम्रतासँगै पुगेका अभिनेता सलिनमान बनियाँले फिल्म हेर्दा आफूलाई डर लागेको बताए ।

 

समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको डेब्यु निर्देशन रहेको फिल्ममा प्रियंका र दीयासहित सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, बाल कलाकारहरु आयुषी ढकाल र जेभिस श्रेष्ठ लगायतको अभिनय छ । फिल्मको निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।भोली माघ २५ बाट फिल्म प्रदर्शनमा आउदै छ ।