गत कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारसँगै प्रदर्शनमा अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको इतिहास रच्न सफल यो फिल्मले यस वर्ष हलमा लामो समयसम्म प्रदर्शन हुने फिल्मको कीर्तिमानी बनाएको छ ।काठमाडौंको सामाखुसीस्थित क्यूएफएक्स चेनको सिटी स्क्वायर हल, रञ्जना सिनेप्लेक्स, बनेपाको शुभकामना सिनेमा, बुटवल र धरानको फ्रेन्ड्स सिनेमाजसहितका १० वटा हलमा फिल्मले सय दिन मनाएको जनाइएको छ । विगत १० वर्षयता आधा दर्जन बढी हलमा नेपाली फिल्मले सय दिन मनाएको यो पहिलो पटक हो ।फिल्मले प्रदर्शनको सय दिन मनाएको खुसीयालीमा निर्माताले सय रुपैयाँमा फिल्म देखाउने घोषणा गरेका छन् । उक्त अफर माघ २७ गतेसम्म रहने निर्माता विनोद पौडेलले जानकारी दिए । उनले केही दिनअघि फिल्म सफलताको खुसीयालीमा विशेष कार्यक्रम आयोजना गर्दै ‘पूर्णबहादुरको सारङ्गी २’ निर्माणको घोषणा गरेका थिए । योसँगै उनले फिल्म ‘रोल नम्बर १’ पनि निर्माण गर्दैछन् ।सरोज पौडेलको निर्देशनमा बनेको फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, बुद्धि तामाङ, भोलाराज सापकोटा, विनोद न्यौपाने लगायतको अभिनय छ ।