‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले जितुसँग मंगलबार लिखित सम्झौता गरेका हुन् । यसअघि फिल्ममा अभिनेत्री सुहाना थापा गौँथलीको भूमिकामा अनुबन्ध भइसकेकी छन् । उनको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग बाँधिने लगभग निश्चित छ । खगेन्द्रसँग निर्माताको लिखित सम्झौता मात्र हुन बाँकी छ । उनी फिल्ममा जोडिएको अवस्थामा चामेको भूमिका निभाउनेछन् । ‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीको कथा हो ।लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्यराज आचार्य र स्वरुपराज आचार्यको संगीत हुनेछ । फिल्मका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन् । आगामी जेठबाट छायांकनको तयारी गरिएको फिल्मको प्रदर्शन दशैं छेकोमा हुने जनाइएको छ l सुशील देवकोटाको लेखन छ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए ।