फिल्म ‘पिताम्बर’को पहिलो गीत ‘म त फ्यान भएँ यार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द तथा आशिष अविरलको संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रदीप खड्का र दिव्या रायमाझी नृत्य गर्दै प्रस्तुत छन् । उनीहरुलाई राधा-कृष्णको रुपमा प्रस्तुत गरिएको छ । कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्मकोनिर्माता विशाल चौलागाईं हुन् l ‘तराईको लोकेसनमा फिल्म खिचिएकाले त्यहाँको माहोलमा सेट तयार गरेका हौं । हामीले सेट निर्माणमा कुनै पनि कञ्जुस्याई गरेका छैनौं,’ विशालले भने । उनले भिडियोको लागत भने खुलाउन चाहेनन् । यद्यपि, भिडियोको मेकिङ हेर्दा २५/३० लाख खर्च भएको देखिन्छ ।
फिल्ममा प्रदीप र दिव्यासहित दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, दिव्यदेव लगायतको अभिनय छ । आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । यसमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद छ ।