फिल्म ‘वसन्त’को टिजर सार्वजनिक गरिएको छ । ‘मिलनको कविता’ नाम दिइएको टिजरमा फिल्मका मुख्य अभिनेता प्रकाशले कविता वाचन गरेको देख्न सकिन्छ  । टिजरमार्फत् अभिनेत्री स्वस्तिमा खड्काप्रति प्रकाशको प्रेम दर्शाउन खोजिएको छ ।फिल्ममा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । गायक तथा अभिनेता प्रकाश सपूतको निर्देशन, लेखन तथा संगीतमा तयार भएको फिल्मको बाग्लुङसहित काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो ।

 

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा भनेको छ । फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । आगामी चैत २२ गतेबाट ‘वसन्त’ प्रदर्शन हुँदैछ ।