फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । फिल्ममा एञ्जिला स्वयं शीर्ष भूमिकामा छिन् । उनको बुबाआमाको भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा छन् । बुबा फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन् । टिजरमा एञ्जिलाका बुबाले ‘तेरो फुटबलले मेरो इज्जत गयो’ भनिरहँदा आमाको एञ्जिलाप्रति विश्वास देखिन्छ । एञ्जिला महिला फुटबल टिमकी गोलरक्षक हुन् ।मिलन चाम्स निर्देशित फिल्ममा प्रेम कुमार श्रेष्ठ निर्माता रहेको छन् l फिल्मको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्मातामा छन् । फिल्मको तीन साता अगाडि प्रचारात्मक गीतको रुपमा ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको थियो, जसलाई युट्युबमा २० लाख बढीले हेरिसकेका छन् ।
फिल्मको गत मंसिर २३ गते हङकङमा वर्ल्ड प्रिमियर भएको थियो भने अब युकेमा प्रिमियरको आयोजनाको लागि निर्देशक चाम्स र निर्माता श्रेष्ठ लन्डन पुगेका छन् । नेपालभन्दा अगाडि अमेरिका, अस्ट्रेलिया र जापानमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको छ । निर्माता श्रेष्ठले फिल्मको विश्वव्यापी कमाइबाट कप्तान एञ्जिलाका लागि काठमाडौंमा घर बनाइदिने घोषणा गरिसकेका छन् । फागुन २९ गते (होली)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा एञ्जिलाको अलावा ‘अञ्जिला’मा सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, सुरज तमु लगायतको पनि अभिनय छ ।