दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक गरिएको छ । तालनगरी पोखराको परिवेशमा खिचिएको फिल्मको ट्रेलर अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईंमा केन्द्रित छ । मनमौजी ढंगले जीवन बाँचिरहेको एक युवकको जीवनमा एक युवतीको आगमनपछि आउने आरोह अवरोधलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।
‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह-निर्मातामा छन् । फिल्मको गीतमा शम्भुजित बाँस्कोटा र एसडी योगीले संगीत दिएका छन् भने कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको फिल्ममा पल र दीपिकाका साथै लक्ष्मी गिरी, राजाराम पौडेल, अन्शु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय छ । यो फिल्मबाट समिम खानले डेब्यु गरेका छन् । ट्रेलरमा उनको विवाह दीपिकासँग भएको देख्न सकिन्छ ।