चलचित्र ‘बटरफ्लाई’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार आर्यन अधिकारी र प्रियंका कार्की फिचरिङ छन् । सङ्गीतकार अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको ‘म गाउँदिन अब गीत गजल’ बोलको उक्त गीतमा गायक सुगम पोखरेल र अञ्जु पन्तले आवाज रहेको छ ।
कालिन्चोकको लोभलाग्दो लोकेशनमा खिचिएको भिडियोमा कविराज गहतराजको कोरियाग्राफी रहेको छ भने सुरेश बज्रचार्यको सिनेम्याटोग्राफी रहेको छ । पुस २८ गते प्रदर्शन मिति तय गरिएको चलचित्र बटरफ्लाईलाई ओम प्रतीक गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । पुष्पाञ्जली अधिकारी, रामशरण राणा र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रमा सरोज शाह, मन्दिल श्रेष्ठ सह निर्माता र रमेश प्रजापति कार्यकारी निर्माताको रूपमा रहेका छन् ।