फिल्म ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा शनिबार प्रिमियर गरिएको छ ।उक्त प्रिमियरमा फिल्मलाई अत्याधिक रुचाइएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख अतिथ्यतामा भएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको थियो ।महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित भएर बनेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।प्रिमियरमा सहभागी हुन नेपालबाट निर्देशक चाम्ससहित फिल्मकी मुख्य कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ र सह-निर्माता विनोद अग्रवाल बेलायत पुगेका थिए । प्रिमियरमा निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र सञ्चारकर्मी नरेश भट्टराई पनि उपस्थित थिए । नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् ।फिल्मको यसअघि हङकङमा पनि प्रिमियर गरिएको थियो । अब अमेरिका, अस्ट्रेलिया र जापानमा रिलिज गरिँदैछ । निर्माता श्रेष्ठका अनुसार प्रिमियरबाट सङ्कलित सबै रकम एञ्जिलाका लागि काठमाडौंमा घर बनाउन प्रयोग हुनेछ । एञ्जिलाले आफूलाई प्राप्त हुने घरलाई भविष्यमा फुटबल एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएकी छन् ।
‘अञ्जिला’ नेपालमा यही फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा कप्तान एञ्जिलासहित सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्मको छायाङ्कन सुदीप बरालले गरेका हुन् । एञ्जिलाले फुटबल खेलाडी बन्न गरेको संघर्षदेखि राष्ट्रिय टिमको कप्तान हुँदासम्मको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।