फिल्म ‘बलिदान’ को छायांकन सक्किएको छ । ४ महिना पछि फिल्मको इन्ड क्ल्याप गरिएको हो ।गत भदौ २२ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो ।  शुक्रबार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माले अन्तिम दृश्य दिए ।केही हप्ताभित्रमा टिजरमार्फत फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिएको छ । फिल्मलाई कुन मितिमा लगाउने भन्ने निधो निर्माताले गरिसकेका छन् । स्रोतका अनुसार आगामी फूलपातीमा फिल्म रिलिजको तयारी गरिएको छ । एक्सन कथामा निर्माण भएको फिल्ममा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव, कामेश्वर चौरसिया लगायतको अभिनय छ । यसमा सन्तोष सेनले पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । ‘बलिदान’को कथा नेपालको भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित रहेको बताइएको छ ।‘बलिदान’मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामले एक्सन दृश्य कोरियोग्राफी गरेका छन् । फिल्ममा गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले गीत, सङ्गीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छ । फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्मातामा रहेका छन् ।