फिल्म ‘दुखी आत्मा’ लाई युएईमा प्रदर्शनका लागि रोक लगाएको छ । युएई मिडिया काउन्सिलको मिडिया कन्टेन्ट सम्बन्धी नियमअनुसार यो फिल्म योग्य नठहरिएपछि सेन्सर पास नगरेको हो ।दीपेन्द्र लामाको निर्देशन तथा लेखकमा निर्माण भएको फिल्म युएईको सेन्सर बोर्डबाट पास हुन नसकेपछि त्यहाँ रिलिज रोकिएको निर्देशक लामाले जानकारी दिए । युएईमा सेन्सर पास नभएपछि अर्को खाडी मुलुक बहराइनका दर्शकले समेत यो फिल्म हेर्न नपाउने भएका छन् । बहराइनले पनि युएईकै मिडिया कन्टेन्ट मापदण्डअनुसार सिनेमा प्रदर्शनलाई नियमन गर्दै आएको हुँदा त्यहाँ पनि प्रदर्शन रोकिएको हो । कतारमा शुक्रबारदेखि नै यो फिल्म प्रदर्शन भइसकेको छ । शनिबारदेखि अस्ट्रेलियामा प्रदर्शन भएको छ भने जापानमा रिलिज भइसकेको छ । दक्षिण कोरियामा फेब्रुअरी २३ देखि रिलिज हुने तय छ । अमेरिका र युरोपका लागि वितरण अधिकार भने अझै बिक्री भइसकेको छैन । नेपालमा भने यो फिल्म प्रदर्शन भइरहेको छ ।प्रणय दिवसको अवसर पारेर शुक्रबारदेखि नेपालमा रिलिज भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । हलमा सिनेमा हेर्न पुगेका अधिकांश दर्शकहरूले यसको कथावस्तु, कलाकारहरूको अभिनय र प्रस्तुति प्रशंसा गरेका छन् । ‘दुखी आत्मा’ ले यौन दुर्बलता भएका पात्रको कथा प्रस्तुत गर्छ । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतका कलाकारहरूको अभिनय छ ।यो फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता सुदिप ढकाल रहेका छन् ।