महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’को प्रचार प्रसार सामाजिक संजाल र संचार माध्यममा नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्व श्रममन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्धामा मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचार प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको हो । पोस्टर सार्वजनिक भएसँगै कलाकार सिताराम कट्टेलको गेटअप पूर्वमन्त्री आलमसँग मिलेको चर्चा भएको थियो । अन्ततः यो विषय अदालत नै प्रवेश गरेको हो । आलमले अदालतमा दायर गरेको मुद्धामा फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको आरोप लगाएका छन् ।कुमार कट्टेलको निर्देशनमा निर्माण भएको फिल्ममा सितारामसहित विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय छ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्ममा नवीन श्रेष्ठ निर्माता तथा राम नरेश साह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् ।