अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)बाट पैसा लिएर मह सञ्चारले धर्म बिरोधको प्रचार प्रसार गरेको आरोप लागेको छ ।  सामजिक संजालमा यस् बहसले चर्को आलोचना भए पछी महजोडीले माफि मागेका छन् । सामाजिक सन्जालमा भिडियो मार्फत उनिहरुले माफि मागेका हुन् । 
भिडियोमा मदनकृष्णले भनेका छन्, ‘हिजोआज सामाजिक सञ्जालमा मह जोडीले यूएसएआईडीबाट पैसा लिएर धर्मको विरोध गर्दै हिँड्यो भन्ने जुन किसिमको अनर्गल प्रचार भइरहेको छ, त्यसले हाम्रो एकदमै चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी सम्झन्छौं । आफ्नै हितैषीबाट यस्तो कुरा सुन्दा चित्त दुखेको छ ।’

कलाकार श्रेष्ठले आफूहरुले कुनै पनि कार्यक्रममा नचाहिने कुरा नबोलेको दाबी गरेका छन् । ‘संसारमा राम्रो र नराम्रो दुवै कुरा छन् । हामीले राम्रा-राम्रा मात्र छानेर काम गर्दै आइरहेका छौं,’ उनी भन्छन्, ‘कुष्ठरोग, खोपका कुराहरु कुनै अधर्म होइन । हाम्रा हरेक सिरियलहरु पूरा हेरेर जाँच्नु भए हुन्छ । त्यसमा कुनै अर्नगल कुरा छैनन् । नचाहिने कुरा बोलेका छैनौं ।’

त्यस्तै, हरिवंश आचार्यले कुनै पनि टेलिसिरियलबाट हिन्दू धर्म वा अन्य धर्मको विरोध नगरेको बताएका छन् । ‘हामीले ‘मदनबहादुर हरिबहादुर’, ‘असल लोग्ने’, ‘आमा’ र विभिन्न किसिमका खोपका कार्यक्रमहरु गरेका छौं । र, त्यो हामीले युट्युबमा छर्लङ हुने गरी राखेका छौं । त्यो एकपटक हेर्दा हुन्छ । हामीले कहीँ पनि सनातन हिन्दू धर्म र अन्य कुनै पनि धर्मको विरोध गरेका छैनौं । र, अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल हो,’ उनले भनेका छन् ।  

हरिवंशले ‘पञ्चायत व्यवस्थाको सराध्य’ कार्यक्रममा हिन्दू धर्मप्रति नभइ पण्डित पात्रको प्रवृत्तिप्रति व्यंग्य गरेको पनि प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितकै छोरो हुँ । र, व्यंग्य भनेको नेता, पण्डित, पुलिस, डाक्टर सबैलाई गर्न पाइन्छ । त्यही अन्तर्गत ‘पञ्चायत व्यवस्थाको सराध्य’ कार्यक्रमको टुक्रा राखेर हिन्दू धर्मको विरोध गर्‍यो भन्ने कपोकल्पित कुरा मात्र हो ।’